पछिल्लो अपडेट
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, July 17, 2014

ईश्वरमणि अधिकारी - कविता_घर



बर्षौंदेखि 
ब्याकरण पढाउने गुरुहरूसंग
म बिमति राख्दै आइरहेछु 
उनीहरू घरलाई जातिबाचक भन्छन्
म घरलाई भाववाचक भन्छु |
महोदय ,
के तिमी आफ्नो घर संझदा
घरको दलिन , ढुंगा र माटो सम्झन्छौ ?
घरका सामान र घरसम्म पुग्ने बाटो सम्झन्छौ ?
घरका आकार -प्रकार या कुनै खास पाटो सम्झन्छौ ?
कि सम्झन्छौ ?
बाबाको अपार आशिर्बाद
परिवारको अनन्त साथ
आमाको न्यानो माया
र, घरको आंचल छायाँ !
अनि आफ्नो आस्था
आफुले बाँचेको समय
आफ्नो स्वप्न
र , आफ्ना अटल विश्वास !
थाहा छैन
अरुहरु के के सम्झन्छन्
तर जब -जब म आफ्नो घर सम्झन्छु
म मेरो भगवान मेरी आमा सम्झन्छु
त्यो काख , त्यो प्यार र मायालु स्पर्श सम्झन्छु
त्यो बाल्यकाल
अतितका चंचल -चंचल याद
अनि आफ्नै आँशु हाँसो सम्झन्छु
थाक्दै गरेको काँध सम्झन्छु बाबाको
जीवन संघर्षका कैयन् पानाहरु सम्झन्छु
र , सम्झन्छु आफ्नै यात्रा
त्यहाँदेखि यहाँसम्मको
यहाँदेखि त्यहाँसम्मको
र , अझै कहाँसम्म पुग्नु छ यो यात्रामा
त्यहि आशिर्बाद र प्यार संगालेर !
अहँ , हुनै सक्दैन !
घर जातिवाचक नाम हुनै सक्दैन
अर्थगत कोटि कै आधारमा पनि
यो मूर्त या बस्तुबोधक हुनै सक्दैन
बर्षौंदेखि
त्यो पुरातन ब्याकरण
घरलाई जातिवाचक भनिरहेछ
तर म ,
घरलाई भाववाचक भन्छु !

ईश्वरमणि अधिकारी
पोखरा , कास्की

Monday, July 7, 2014

मुना मन सिग्देल - आलाप-जिन्दगीको


भग्नावशेषमा,
किचिएको चिच्याहट 
न ऊसले सुन्छ
न सुन्छ समयले
जिन्दगी
बेफिक्री जिउनेहरूको ताँतिमा
किचिने र चेप्टिने का लागि
न यो पृथ्वी घुम्न छोड्ला
न उदाउन छोड्लान् जूनतारा
ज़िन्दगी भित्र जिन्दगी
चित्कार गर्छ
समयले कोपरेर दुखेका
यी दूखाईहरूसँग
घाउहरूसँग
न सक्यो विज्ञानले
यी जम्मै दर्दहरुको किटाणु पत्ता लाउन
न सक्यो मापन गर्ने यन्त्र बनाउन
न सक्यो बनाउन निराकरणको ओखती नै
म कसरी नाप्न सकूँ
तिम्रो मनको गहिराई
कसरी बनाउँ निमेष
तिम्रो मनको फेदसम्म गाडिएको
यो मनलाई
मनका उद्वेगहरुलाई
उस्तै लास भित्र धुकुधुकु
कयौँ आत्माहरू
भोली मेरो चिहानसम्म आएर
निस्फीक्री समीक्षा गर्नेछन्
समयले खोपेको मेरो जिन्दगीका छिद्राहरु माथि
र, बगाउनेछन्
दुई थोपा आँसु पीडाकोर दर्दको
त्यतिबेला
न तिमि चिहान सम्म आऊनेछौ
न त त्यो आवाज सुन्ने छौ
तिमी त युद्ध जितेको मान्छे
रमाइरहनेछौ
धुमधाम बिजय को जुलूसमा
अनेकौँ रँग पोतिएका
ख़ुशीका आफ्नै सुन्दर ब्यानरहरुमा
तर
के तिम्रो आयू नाप्लान् ती ब्यानरहरुले



Wednesday, June 11, 2014

निरज भट्टराई - कविता ~ लापरवाही



हरेक रात म निदाएपछि
मेरो कोठाको भित्ताबाट 
एक - एक गर्दै
ईंट्टाहरु बाहिर निस्किन्छन्
पखेटा फिँजाएर उडिजान्छन्
मेरो कविताको कल्पनाभन्दा पर
र , फर्किसक्छन् भित्ताहरुमा
म बिउँझिनु अगावै
समयको खुब पक्का छन् ईंट्टाहरु
लापरवाही गर्ने त मनका ईंट्टाहरु हुन्
पखेटा फिँजाएर उडिगएथे उहिल्यै तिमीकहाँ
आजसम्म फर्केनन् 




Friday, June 6, 2014

समिर सायर भट्टराई - छोटो कबिता


ढोका नढकढक्याउनु होला

पर्दा उर्घाने कुचेस्टा पनी नर्गनु
भित्र
सुहागरात मनाईरहेछ
कबिले आफ्नै कबिता सगँ ।





 

Tuesday, June 3, 2014

प्रदिप भट्टराई - कविता


निन्द्राको मात
बेहोशी मुद्रा
र आधाआधी
कम्पन रहने
चिन्तनाहरु माझ
बेहोशी चेतले
खलबलाएको मस्तिष्क
होशमै
पूर्णरुपमा खुल्दैनन् र पूरा हुदैनन् भने
हिड तिमी पनि दिनहुँ
म सँगै सपनाहरुको मलामी बनेर ।




Sunday, June 1, 2014

अर्जुन दृष्टि पौडेल - कविता ~ उजुरी



 मेरै नाउँमा
उजुरी परेको छ अदालतमा ।

आरोप लगाइएको छ
कसैको दिल चोरेको छु रे,
धेरै मन दुखाएको छु रे
र, मन पराएको छु रे
यस्तैयस्तै पृष्ठको लामो व्यहोरामा ।।...


त्यसपछि–
केही प्रमाण जुटाउदै
अदालतको कठघेरामा ल्याईयो ।

र, अदालतले
मेरो जवानीलाई दोषि देखायो ।

सोचिरहेछु–
अब अदालतले
मेरो जवानीलाई कस्तो कारवाही गर्ला ?
 
 
 

 

रमेश सायन - कविताः चोर


 कम्तीमा मसँग चोरको जति अभाव छैन
मैले आफ्नै जिन्दगी नचोरी बाँचेको छु

सिरानीवाट आफ्नै सपना चोरिन
ठिहीमा बलिरहेको अँगेनो
वर्षात् ओत ...
गर्मिंमा छहारी
उकालो यात्रामा चौतारो चोरिनँ
मरुभुमीको यात्रामा क्याक्टस चोरिनँ

मैले चोरिनँ
ऐनवाट अनुहार
घडीवाट समय
बालापनको चकचक
अहँ, केही चोरिनँ
स्कुल जाँदा कहिल्यै बाटो चोरेर सिनेमाघर पुगिनँ
बगैचाँवाट फूलको रङ चोरिन

आँखाले सौन्दर्य चोरेन
कानले सङ्गीतको सरगम चोरेन

यसरी मैले केही नचोरी बाँचीरहदा
समयले मैलाई चोरेर हिँडी सकेछ ।



Friday, May 16, 2014

डा. निरज भट्टराई - कविता

      "जवाफ"

सधै सधै व्यस्त रहने
चिया पसलको एउटा गिलासलाई सोधे
यार तिमिलाई दुध, चियापत्ति र चिनिको
स्वादले दिक्क लाग्दैन ?

फिस्स हाँसेर उसले भन्यो-
सर, हरेक ओठको स्वाद फरक हुन्छ ।

*कविता सङ्ग्रह धुवाँको धागोबाट "जवाफ" शिर्षकको कविता

भुपिन भुपिन - कविता

एउटा नोटको जीवनी

मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ...
म त्यसको जीवनी पढिरहेछु ।

यो नोटको जन्मको बारेमा
म बिल्कुल अनभिज्ञ छु ।
तर थाहा छ मलाई-
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा सुरू भयो ।

एक क्यासियरले
जिब्रोको थुकमा बुढी औंला चोबेर
गन्यो यो नोट
र पहिलोपटक थमायो ग्राहकको हातमा ।

बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो
मासु पसलमा ।
नोटमा मासु पसलेको हातको आलो रगत टाँसियो ।
त्यसपछि पुग्यो नोट
रूघाग्रस्त साहुको हातमा
नोटमा साहुको सिंगान टाँसियो ।
त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेर
नोट गन्दै थियो ।

म सोचिरहेछु
फोहोरले चिरहरण गरिरहेको नोटले
कसरी बनाउँछ मानिसको दिमागलाई सफा ?

पुग्यो नोट
भर्खरै वाथरुममा सेफ्टी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
त्यसमा टाँसियो
मासिक श्रावको रगत ।
पुग्यो नोट
यौन कर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस ।
भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिपोक्रेट
सबैको हातहातसम्म
नोटको यात्रा जारी रह्यो ।

एकपटक बढो मुस्किलले
गरीबको हातमा पनि पुग्यो नोट
जसमा उसको आँसु
र पसिना पनि मिसियो ।
तर भोलीपल्ट नै नोट पुग्यो
वेरोजगारीले किलकिले अँठाएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो
अफिमको वासना टाँसियो ।

लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवानलाई
त्यही नोट ।

म पढिरहेछु
एउटा नोटको रोमांचक जीवनी ।
तर बुझिरहेको छैन
कि किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट ?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट ?

मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।

Wednesday, May 14, 2014

सुमन लम्साल - कविता

प्रिय छोरा,
तिमीले जन्मेपछी पहिलोपटक 
देखेको हिमालको काखबाट,
तिमीले पहिलोपटक 
साहारा लिएर उभिएको 
भित्ताको आड लगाउदै,
तिमीलेनै पहिलोपटक 
समाएको कलमले 
लेख्दै छु तिमीलाई यो 
पहिलो चिठ्ठी, 
लेख्दिन भनेकी थिएँ, 
झक्झक्यायो समयले
पछुतोको भुमरी देखाएर,
बिक्षिप्त मनले 
वाध्य बनायो हातलाई,
जुन मनले बोकेको छ–
तिमी जन्मदाको भन्दा 
बढी प्रसब बेदना,
नब्बे सालको भन्दा 
ठुलो भुँइचालो,
आफ्नो मृत्यु भन्दा
बढी तिमी टुहुरो हुने भय ।

छोरा !
तिमी गएदेखी–
फर्केर आएको छैन
सँगसँगै निस्केको जुनकिरी,
त्यही दिन घर छाडेको गौथलीले 
फर्केर स्याहारेन आफ्नो घर,
देखिएका छैनन्
यो धमिलो आकाशमा सेता परेवाहरु,
आजभोली– 
मेरै छातीमा बसेर 
शिरको मोलतोल गर्दैछन 
मुटुहरु, 
खुल्न मानेका छैनन् 
लासको थुप्रो देखेर डराएका 
आँखाका नानीहरु,
तोप्को आवाज सँगै बन्द भएका 
कानका जालिहरु,
खुट्टाले हिँड्न छाडेको त 
बषौं भाईसक्यो,
यही मौका छोपेर 
डसिरहेछन रोगहरुपनि,
वैशाखिहरु चिरपट बनेर
आफ्नै माथी प्रहार गरिरहेछन,
बैरिले लग्यो छोरा–
भर्खर फक्रदैको लालिगुराँस,
विर्ताको पाखो बारी,
लाग्यो आखिर घरको चाबिपनि,
अब चाँही मैले बुझेँ– 
आफ्नै मुटुको टुक्रा चुडालेर 
बगाएको रगतको खोलाले 
दिदोरहेनछ शान्ती,
आँशु झारेर मात्रपनि
जाँदोरहेनछ दुःख,
आफ्नै परिवारसँग टाढिएर
पाइदोरहेनछ सुख,

छोरा म कमजोर भएकी छु ।
यदी तिमीमा– 
माया छ भने आमाको प्राणको,
असर छ भने दशधारा दुधको,
सम्झना छ भने जन्मेको कोखको,
तिमी आउ छोरा– 
मेरो औषधी लिएर आउ, 
आउ मेरो भाँचिएको बैशाखि लिएर,
तिम्रो प्रतिक्षामा
उही तिम्री 
आमा नेपाली
 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.