पछिल्लो अपडेट
Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Saturday, August 16, 2014

सुदर्शन शर्मा - कथा: कृषिक्रान्तिको बहस र आमाको फोन



माननीयज्यूहरुको सदनमा कृषिक्रान्तिको प्रसङ्गले प्रवेश पायो। रेडियो नेपालले बोल्दै थियो, 'अन्न उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने छ।' समाचार पनि कमै सुन्ने गर्छु अचेल। समाचारबाट निष्कर्ष निकाल्नै धौ-धौ पर्छ यहाँ। जे नहोलाजस्तो त्यो भैदिन्छ, जे हुनुपर्ने हो त्यसको अत्तो-पत्तो हुँदैन।
 बाहिर अचानक पानी पर्न थाल्यो। पर्दा खोलिराखेको झ्यालमा एक-दुई बाछिटा उमंगले उफ्रिँदै टाँसिन आईपुगे। अनौठो आनन्द आउँछ पानी परेपछि बाहिर हिँड्नुपरेन भने। थोत्रै भएपनि फेसबुक चल्छ मेरो मोबाइलमा। कैलेकाहिँ खोलेर त्यतिकै छोडिदिन्छु। साथीहरु रिप्लाई गरेन भनेर रिसाउँदा हुन। यसो हेरेँ। स्नातकका दुई-चारसाथी अनलाइन मै रैछन्। स्नातकको चारबर्षे इञ्जिनियरिङ्ग पढाइ, जब मस्तिष्कमा सम्झेजति चित्र हरु कोरिन्छन् तब संसारका सबै बनेका या बन्न सक्ने चलचित्रको धज्जी उडाइदिन मन लाग्छ। अनलाइनमा साथीहरु देखेपछि घटनाहरु जोडजोडले ठोक्किन्छन् दिमागमा।
'ओई क्यारेआछौ?' यो नेपालीमा रमाइलो सम्बोधन गर्ने तरिका।
“क्यार्नु त्यतिकै।”
फेरि अर्को साथीलाई उही प्रश्न तेर्स्याईदिएँ।
 उस्ले अश्लील शब्द मिसाएर उत्तर दियो। रमाइलो निम्ति रफ बोल्ने बानी नि उस्को।
 “हाहा” लेखिपठाएँ।
 “तिमी?” पैलेको साथी।
 “म पनि....” मेरो उत्तर।
पानी परिरहेकै छ बाहिर। घरबाट आमाको फोन आयो। सानैमा ‘मम्मी-ड्याडी’ भन्न किन सिकाए कुन्नि? ‘आमा-बुवा’ वा ‘माता-पिता’ भन्ने कैयौँ प्रयत्न गर्दा पनि सकेको छैन।
'मम्मी दर्शन,' उठाएँ फोन।
'आशीर्बाद कान्छी छोरी,' मम्मीले असीम माया पोख्नुभो। यसरी छोरालाई छोरी र छोरीलाई छोरा भनेर माया दर्शाएको देखी-बुझी आएकोले होला साह्रै फुरुङग हुन्छु मम्मी-ड्याडीले छोरी भनिदिँदा।
 'के छ त नि मम्मी? क्यार्नुभह?'
'के हुनु। पानी परेओहैन। धान रोप्नि बेला भओ। काम अर्नि मन्छे महङ्गा भए। तेई पनि खोजीमोर्दा नि पाइन्न। तिमी यता आम्चेउकि आम्दिनौ नि?'
 यौटा असीमित उत्तरको खोजी जस्तो लाग्यो यो प्रश्नमा। 'जीवन के हो?' भनेर जसलाई सबैभन्दा पैलो प्रश्न सोधियो। जस्लाई 'बाँच्नु कसरी?” भनेर पाइलैपिच्छे प्रश्न सोध्दा सोध्दै बाँच्न सिकियो। आज उनै ‘धर्ती’लाई के उत्तर दिनु, यो विवेचनात्मक प्रश्नको? असमञ्जस्यमा परेँ।
बाहिर पानी परिरहेकै छ। यसबीचमा मैले काम खोजिन या पाईन म के भनुँ। फुर्सदमै थिएँ तर व्यस्त थिएँ। के काम छ भनुँ आमालाई? गाउँमा दशैँताका पुग्दा बाँझा खेतहरुमा उम्रेका सिरूहरुले चसक्क मन घोच्दथे। धेरैका घोच्दा हुन। मन मडारियो उत्तर भेटिएन।
फ्याट्ट उत्तर फुर्यो।
'मम्मी! पढाइ नि छ। काम नि पाइन्च कि झैँ छ। यता-उता पैसा खोजेर अलिअलि रोप्नु। सप्पै त रोप्न पर्दैन। धेरै दुख्ख नअर्नु के।' अरु  धेरै कुरा भए त्यसपछि।
'अब आम्नि त दशेआँ त होला नि हैन?' मलीनो स्वरमा भन्नु भो।
म भक्कानिएर विस्तारै भनेँ, 'अँ अब त्यहि होला मम्मी।'
 रेडियोमा कृषिक्रान्तिको कुरा चलिरहेकै थियो। मनमा ज्वारभाटा उठ्यो। थानकोटबाट यो सहरलाई ‘आची गर्ने ठाउँ’ देखाएर कृषिक्रान्ति गर्न गाउँ फर्किउ जस्तो लाग्यो। हिलोसँग घिन मान्ने यो घिनलाग्दो सहरको लगभग मध्यमा रहेको अन्तर्राष्ट्रिय केन्द्रमा केको कृषिक्रान्तिको सत्य वहस हुँदो हो?

Tuesday, August 5, 2014

डा. कपिलदेव लामिछाने - कथा


“आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो ।
“बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् ।
नितेशले भन्यो, “सन्चै छु । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।”
उनले भनिन्, “म यहीँ ठिक छु बा ।”
ऊ कड्क्यो, “यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।”
भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, “यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत ।”
उसले भन्यो, “अब हामी सबै उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।”
उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन् ।
एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, “हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोर्डिङ पास लिन्छु । कतै नजानु होला ।”
ऊ भित्र पस्यो ।
उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । “टिकट नपाएर पो हो कि ?” उनी सोचिरहिन् । समयले नेटो काट्यो, तर उनले छोराले बसालेको बेन्च छाडिनन् ।
“आमै, एक्लै किन यति बेरसम्म ?” एयरपोर्टको एक कर्मचारीले सोध्यो ।
उनले यथार्थ बताइन् ।
कर्मचारीले अमेरिका जाने यात्रुको सूची हे¥यो र भन्यो, “तपाईंको छोरा नितेश हो ? ऊ त चार घन्टा अघि नै उडिसक्यो ।”
उनी ढलिन् । कर्मचारीले पानी छम्केर उठायो ।
उनी बेचेको घरमा पुगिन् र एउटा कोठा भाडामा लिएर बस्न थालिन् । एक दिन घरवालाले भन्यो, “तपाईं सारै बृद्ध हुनु भो ¤ एक्लै कति दुख गर्नुहुन्छ । कतै आफन्तकहाँ गएर बस्नुस् न ¤”
उनले भनिन्, “जाने थिएँ । छोरो आएर खोज्ला भनेर मात्रै यहाँ बसिरहेकी छु ।”


Thursday, July 3, 2014

टीकाराम रेग्मी - लघुकथाः पापको धन


कोठाबाट बाहिर निस्केर बेञ्चमा टुसुक्क बस्स्दानबस्दै, पल्लो कोठाबाट मोटामोटी सत्तरी पचहत्तरका बुढा मान्छे लड्खडाउँदै बाहिर निस्कदँ गरेकाे देखेँ । कता लोट्छन् कि जस्तो लाग्यो, हातको सहारा दिएँ ।
'बुवा कहाँबाट ?' सोधें ।
'भैरहवाबाट ।' दबित स्वरमा बोले बुढा ।
'एक्लै ?' म बसिरहेको बेञ्चमा बसालेपछि सोधें ।
'कसलाई ल्याउँ त ?' बुढी आउन मानिन । बुढाकाे सास फुल्दै थियाे ।
'अनि यस्तो बेला यहाँ किन त ?'
'कति अस्पताल गएँ, डाक्टरहरू औषधि लेख्दिन्छन् खायो, तीन दिन अलिक सहज हुन्छ, त्यसपछि उस्तै । गाउँलेहरुले यहाँ हुन्छ भनेको सुनें, आएँ । अब यिनीहरुले जे गर्लान् गर्लान् । बुढाले बल्ल बल्ल यति भनी सके र स्याँ स्याँ गर्न लागे ।
'अनि छोराछोरी छैनन् त यस्तो बेलामा सहयोग गर्नलाई ?'
'छन् नि किन नहुनु । तर के काम ? तिनलाई नोट छाप्दै फुर्सद छैन । म किन चाहिएँ र अब ?' बुढाले आँखा टिलपिल पारे ।
भने, 'हिजो के ख्वाऊँ, के लाइदिऊँ भन्ने बेला मरिहत्ते गरें, यो जीवनमा के गर्न हुने गरें, के गर्न नहुने गरें, सबै गरें । बुढाले भुँडी देखाए र भने हेर बाबु, 'यो भुँडीमा के छैन ? अलकत्रा, कोइला, मट्टीतेल, डिजेल, पेट्रोल के के भन्छौ, रत्नपार्कको फोहोर र आर्यघाटको दाउरा पनि यसैमा छ । त्यति मात्र हाेइन, भान्जीलाई घडेरी किन्दाकाे कमिसन हाेस कि, भाईलाई अँश हास् । तर के काम अब ती सबैको ? बुढाका आँखाबाट तरर नदी बगे ।
म भनें निशब्द टोलाई रहेको थिएँ ।
बुढा स्याँ स्याँ गर्दै फेरि बोले, 'बाबु, मलाई राम्ररी बोल्न र हिड्न मात्र सक्ने बनाइ दियो भने यो प्राकृतिक चिकित्सालयलाई पचास लाख चन्दा दिन्छु । कसलाई राखूँ र त्यो पापको धन ? 



Sunday, June 22, 2014

कपोल कल्पित - कथा - इन्दिरा

त्यो दिन घर फर्कदा फर्कदै ढिला भयो । साइटबाट साझँ ५ बजे छुट्‍टि भएर निस्किएको थिएँ , साथी राजेशले अत्ति कर गरेर उसको घर गएँ । मलाई पिउन मन नै थिएन र पनि नपिइकन सुखै पाइन । पिएपछि उहि त हो अफिसका हाकिमदेखि पियूनसम्म सबका कुराहरु निस्किए । घरि रोए झैँ गर्दै त घरि हाँसे झैँ गर्दै उसले आफ्ना पारिवारिक कुराहरु पनि सुनायो । बल्ल बल्ल ९ बजेतिर म उसको घरबाट निस्किन पाएँ । " म छोड्न जानुपर्छ ? ", ऊ हल्लिदै माथि बरान्डाबाट भन्दै थियो । " नाँई , एक्लै जानसक्छु । गुड नाइट ! ", भन्दै कार लिएर म घरतिर फर्किएँ । 
      आकाश अध्यारो थियो , सडकमा कुकुरहरु भुकिरहेका थिए । सडकका ल्यामपोष्टहरु भने रातको अध्यारोमा मज्जासगँ चम्किरहेका थिए । मेरो टोलका पनि सबै मानिसहरु सुतिसकेकाले होला टोल पुरै सुनसान थियो । घरको गेटसामु पुगेँ र गाडिबाट ओर्लिएँ । छेउको घन्टि बजाएँ ।तर अहँ त्यो साँझ इन्दिरा गेट खोल्न झरिन । तल्लो फ्लाट महेशले भाडाँमा लिएका थिए , उनैलाई गेट खोल्न अर्‍याएँ । बिचरा उनि  केहि नबोली सरासर आएर गेट खोलिदिए । म गाडिभित्र पसेँ र उनलाई धन्यवाद भनिदिएँ । चेनगेट खुल्ला नै थियो, मेन गेटमा साँचो लगाईदिएँ र माथि उक्लिएँ । 'इन्दिरा , इन्दिरा ' भनेर दुईतिन पटक बोलाएँ तर इन्दिराको जवाफ कतैबाट आएन । छोरी स्मृति आफ्नो कोठामा निदाईसकेकी थिई । उसलाई गएर निदारमा चुम्बन गरेँ र केहिबेर उसको निदाएको अनुहार हेरेर बसिरहेँ । भान्छामा अध्याँरो थियो । गएर हेरेको इन्दिराले पनि खाना खान बाँकि नै भएको देखेँ । 'कहाँ गई इन्दिरा ? ' म बडो तनाबमा परेँ । पिएर आएको हुँदा उसले गाली गर्ली भन्ने डर लागिरहेको थियो तर अब ऊ कहाँ गई भन्ने नयाँ डर पलाउन थाल्यो । ' इन्दिरा , इन्दिरा ' भन्दै माथि टि.भि . कोठामा गएँ तर ऊ त्यहाँ पनि थिइन । 
     गोजिमा छामेँ , मोबाइल त गाडिमा नै पो छुटेको रहेछ । फेरी तल झरेँ र गाडिबाट मोबाइल झिकेँ । साँझ ६ बजेतिरका उसका ३ ओटा मिस्ड कलहरु थिए । उसलाई डायल गरेँ तर उसको मोबाइल उठेन । माथि उक्लिनु अघि एकपटक महेशको ढोका ढक्ढकाएँ ।
   " इन्दिरा कता गईछ , देख्नु भो बाबुले ? " मैले आफ्नो ज्यानलाई भित्तामा आडेश लगाँउदै सोधेँ । " खोई , ६ बजेतिर त घरमैँ हुनुहुन्थ्यो । एकपटक कल गर्नुस् न , " महेशले सल्लाह दिदैँ भने । "कल त गरेको तर फोन नै उठेन ," भन्दै म माथि उक्लिएँ । फेरी उसको मोबाइल नम्बर डायल गरेँ । एकछिन पछि फोन त गयो तर उसले मोबाइल माथि कोठामा नै छोडेर हिडेकी रहिछ । एकैछिन त्यहि पलङमा पल्टिएर उसकै बारेमा सोच्न थालेँ बिहान अफिस जाने बेलामा त सबै कुरा ठिकै थियो । उसले मुस्कुराएरै बिदा गरेको पल दिमाखमा झल्झली याद आइरह्यो । 
     इन्दिरा र मैले ६ बर्ष अगाडि प्रेम बिवाह गरेका थियौँ । हुन त हाम्रो त्यो भन्दा अगाडि खासै भेटघाट भएकै थिएन तर पनि हामी एक अर्काको प्रेममा चुर्लुम्म डुबिसकेको हुदाँ बिवाह नगरि बस्नै सकेनौँ । हाम्रो अचानक बिहे भयो । बिवाहका लागि उसको परिवार धनगढिदेखि नेपालगन्ज आएको थियो । मेरो बुवाआमा पनि एकदिनको बस यात्रा गरेर त्यहि आइपुग्नुभएको थियो । इन्दिरा र म काठमाण्डौँबाट बिहेको अघिल्लो दिन त्यहाँ पुगेका थियौँ । नजिकका आफन्तजनहरुको मात्र उपस्थितीमा सामान्य हिन्दु परम्परा अनुसार हाम्रो बिवाह सम्पन्न भयो । बिहे भएदेखि आजसम्म सानो कुरामा पनि हाम्रो मनमुटाब भएको मलाई याद थिएन । त्यसैले पनि आज ऊ यसरी एकाएक गायब भइदिँदा मलाई भुँईचालो गएको अनुभुति भईरह्यो । 
   केहि थाहा छ कि भनि एकपटक धनगढिमा रहेको उसको माईतिमा फोन गरेँ । शुरुमा इन्दिराको बुवासगँ सन्चो बिसन्चोबारे सामान्य कुरा भयो अनि इन्दिराको आमा बोल्नथाल्नु भयो । " इन्दिरा सन्चै छ बाबु ? " भनेर सोध्नुभयो । "अँ , सन्चै छ आमा ," भनिदिएँ । फेरि ' छोरीलाई दिनु न एकपटक फोन ' भनेर भन्नुभयो । म अक्कबक्क परेँ । लौ ! के भनेर टारुँ जस्तो भयो । मनमा ब्यर्थै फोन गरेछु जस्तो पनि लागिरह्यो । ' आमा ऊ त अहिले भान्छामा छे ' भनेर टारिदिएँ । उहाँले हास्दै ' होइन , नातिनी छोरिलाई दिनु ' भनेको भन्नुभयो । मैले लामो सास फेर्दै भनिदिएँ , " ऊ त निदाइसकि आमा ।"
     अरु धेरै कुरा नगरिकन फोन राखिदिएँ । अरुहरुलाई त फोन गर्न पनि मन लागेन । अरु त आखिर को नै पो थियो र फोन गर्नलाई पनि ? सोच्दासोच्दै सायद रक्सी लागेर पनि होला भुसुक्क निदाएछु । 
     ब्युझिदाँ इन्दिरा छेउमा सुतिरहेकि थिई । म त अचम्मित परेँ । छेउमा घडि हेरेको बिहानको ४ बजेको थियो । " इन्दिरा ,  "  उसलाई हल्लाउँदै बोलाएँ । ऊ 'हँ' गर्दै अर्कोतर्फ फर्किई । उसले आखाँ चिम्लिइरहेकै थिई । " कहाँ गएकी थियौ तिमी हिजो ? " मैले उठेर बस्दै सोधेँ । उसले फेरी निन्द्रामैँ 'हँ ' गरी । मलाई फेरि सोध्नै मन लागेन , ऊ मस्त निन्द्रामा सुतिरहेकी थिई । म फेरी ऊ कहाँ गएकी थिई होला भनेर टोलाउन थालेँ तर अहँ केहि अनुमान लगाउन सकिन । 
      म त्यो दिन पनि सदा झैँ उठेर मर्निङ वाकमा निस्किएँ । अनिल , समुन्द्र र बिमल मेरा मर्निङ वाकका साथिहरु थिए तर उनिहरुसगँ एक शब्द पनि नबोलेरै घर फर्किएँ । अरु दिन घर अगाडिको स्टेशनरीमा आधा घन्टा भुलेर मात्रै घर फर्किन्थेँ तर आज त्यसो गरिन । सरासर पत्रिका किनेर घर आएँ । ऊ बाथरुममा नुहाँउदै थिई , म बैठक कोठामा बसेर पत्रिका पढ्न थालेँ । ऊ नुहाएर सकेपछि हातमा दईओटा चिया लिएर बैठक कोठामा आइपुगी । मैले पत्रिकाको बिचको पृष्ठ पढ्दै थिएँ , उसले सामान्य गरी शुरुको पेज मागी । म उसलाई सोध्न लाउँदै थिएँ , ऊ आफैले ' हिजो किन ढिला गर्नुभएको ? ' भनेर सोधी । " हिजो साइटमा गएको थिएँ , आउँदा आउँदै ढिला भो , " मैले स्पष्टिकरण दिएँ । " अनि त्यस्तो बिधी रक्सिचाहिँ कहाँ खानु भएको नी ? " उसैले फेरी सोधी । " रक्सि ............ राजेशले अत्ति कर गर्‍यो अनि ...... " म अकबकाएँ , " अनि तिमीचाहिँ कहाँ गएकी थियौ नी ? " उसले मलाई हेरेर मुसुक्क मुस्कुराई र भनि , " यहिँ छोरीको कोठामा त थिएँ नी ।" 
         " अनि मैले बोलाउँदा किन नबोलेको त ? "
        " रिसाएर नी ...... त्सस्तो गरी पनि कसैले पिउँछ ? " उसले रिसाएझैँ गर्दै भनि । 
      ओहो ! मैले भनेँ यता के के सोच्न भ्याईसकेको !
     इन्दिरा एकदमै संस्कारवाली मान्छे थिई । हरेक सोमबार मेरालागि भन्दै ब्रत बस्ने गर्थी । बिहान , साँझ नुहाएर भगवानको पुजा गरेर मात्र खाना खाने गर्थी । यस्ती इन्दिराको नराम्रो सोच्नु त मेरा लागी ठुलो पाप गर्नु समान नै हुन्थ्यो । पहिले इन्दिराले पनि मेरै अफिसमा काम गर्ने गर्थिन् तर पछि छोरी पेटमा भएपछि म आफैँले उनलाई जागिर छोड्न लगाएँ । अब फेरी उनका लागि नयाँ जागिर खोज्दै थिएँ तर  भनेजस्तो पाईरहेकै थिइन । नानीलाई स्कुल पुर्‍याउने , ल्याउने काम पनि थपिएको हुदाँ नजिकैको जागिर भए उनलाई सजिलो हुने गर्थ्यो । 
       छोरी सानै भए पनि घुम्न जान खुब मन गर्थी । त्यसैले हामी प्राय बिदाको दिनहरु घुमेरै बिताउने गर्थ्यौ । " छोरीलाई बाबा र ममीमध्ये कसको बढी माया लाग्छ ?" म छोरीलाई अक्सर सोधिरहन्थेँ । ऊ हरेकपल्ट ' बाबाको ' भन्थी तर ममि बिना एक मिनेट पनि बस्न सक्दिनथी । मेरो बुवा आमा दाई भाउजुसगँ गाउँमै बस्नुहुन्थ्यो , जत्ति कर गर्दा पनि उहाँहरु काठमाण्डौँ आउन मान्नुभएन । सायद उहाँहरु पनि हामीसगैँ भएको भए हामी अझ बढि खुशी हुने थियौँ । 
       त्यो दिन स्मृतिको पाँचौ जन्मदिन थियो । इन्दिराले मलाई अफिस जाने बेलामा ' साझँ छिटो फर्किनुहोला' भनेर सम्झाएकी थिई । म अफिसबाट छिट्टै बिदा मागेर घर फर्किएँ । छोरी स्मृति त्यो दिन परिजस्तै राम्री देखिएकी थिई । कोठाहरु बेलुनले सजाइएको थियो । इन्दिराले महेशला्ई पनि निम्ता गरेकी रैछिन् , उनि पनि माथि आए । छोरी स्मृतिले केक काटिन् र इन्दिरा , मलाई र महेशलाई पालैपालो केक खुवाइदिईन् । मैले पनि उसलाई केक खुवाइदिएँ । उपहारमा उसलाई सुनको सानो माला लगेको थिएँ , त्यो लगाईदिएँ । महेशले पनि आफूले लगेको उपहार उसको हातमा राखिदिए । ऊ उपहारहरु पाएर दङ्ग देखिन्थी । केहि बेरमै महेश र मेरो खानपिन शुरु भयो । दुइटा पेलेटमा मासु , सलाद र ठुलो वाइनको बोत्तल छेउमा राखिदिएर इन्दिरा टि. भि. कोठातर्फ लागिन् । महेश उमेरमा तिस लागेपनि अबिवाहित थिए । " महेश जी , अब तपाँईले पनि बिहे गर्नु । एक्लै त कसरी जीन्दगी कटाउनुहुन्छ ? " बिस्तारै रक्सि चढ्न थालेपछि मैले प्रसङ्ग शुरु गरेँ ।
     "  खोई , म त कहिल्यै बिहे गर्दिन होला दाई , "  उनले निकै निराशा भरिएको स्वरमा भने । एकछिन टोलाए र आफ्नो प्रेम प्रसङ्ग सुनाउन शुरु गरे , " दाई म एकजनालाई औधी माया गर्छु । ऊ पनि मलाई माया गर्छे तर बिहे गर्न सक्दिन भन्छे । न म उसको अगाडि अरुसगँ बिहे गर्न सक्छु , न ऊ मसगँ बिहे गर्न मान्छे । त्यसैले मेरो बिहे असम्भब छ दाई ।"
      मैले उनलाई अरु कसैसगँ बिहे गर्ने सल्लाह दिएँ तर उनि बाराम्बार आफुले प्रेम गरेको मान्छेलाई धोका दिन सक्दिन भनिरहे । एकपटक मलाई एकाएक पन्ध्र दिनका लागि अफिसबाट राजधानी बाहिर जाने काम पर्‍यो । पहिलो दिन पहाडको घरमा गएर बसेँ र बुवा आमालाई पनि भेटेँ । अर्को दिन साझँ गन्तब्यमा पुगेँ । पन्ध्र दिनका लागि भनेर गएको भए पनि काम एक हप्तामै सकियो र म छिट्टै काठमाण्डौँ फर्किन पाउनेभएँ । यत्तिबेला छोरीको स्कुल पनि बिदा थियो त्यसैले मैले सपरिवार इन्डिया टुर जाने योजना बनाएँ । इन्दिरा र छोरी दुबैलाई सरप्राइज दिनका लागि मैले इन्दिरालाई पनि खबर नगरी काठमाण्डौँ फर्किएँ । सिधै ट्राभल एजेन्सीमा गएर टिकट लिई घरमा गएँ तर घरको त गेटमा ताल्चा लगाएको थियो । इन्दिराको मोबाइलमा फोन गरेर ' कहाँ छौ इन्दिरा ? ' भनेर सोधेँ । उसले 'म घरमै छु' भनेर मलाई ढाँटी । हामी प्राय बाहिर कतै हिड्दा घर अगाडिको पसलमा साँचो छोडेर हिड्ने गर्थ्यौ । " इन्दिरा कतिबेला बाहिर गएकी हो दिदी ? " मैले पसलकी दिदीलाई सोधेँ । " उहाँ त अस्ति नै जानुभएको हो ," दिदीले मलाई साँचो दिदै भन्नुभयो । त्यो भन्दा बढि त केहि सोध्नै मन लागेन । ' ऊ कहाँ , कोसगँ गई ? ' भन्ने कुराले मलाई ठुलो तनाब दियो । ऊ यसरी मलाई ढाँटेर आजसम्म कतै गएकी थिइन । किन किन मलाई अत्ति रक्सि पिउन मन लाग्यो । माथि रुममा गएँ र दराजबाट रक्सि निकालेर पिउन थालेँ । बिस्तारै रक्सि चढ्दै गयो र मैले पनि होश गुमाउँदै गएँ । अगाडि भित्तामा उसको र मेरो ठुलो फ्रेमवाला फोटो थियो । एकैछिन त्यसलाई घोरिएर हेरेँ र पिउँदै गरेको बोत्तलले हानेर फुटाईदिएँ । रुम पुरै सिसै सिसाले भरियो । उसका बारेमा ठुला ठुला शङ्काहरु पलाउन थाले । उसलाई फेरि कल गरेँ । उताको आवाज खासै प्रस्ट सुनिएन । फेरि फोन गरेँ तर यो पल्ट उसले फोन उठाइन । म रिसले झन् रातो भएँ । घरि शिरलाई भित्तामा ठोक्न मन लाग्थ्यो त घरि जोड जोडले कराउन । 
      यत्तिकै भुइँमा सुतिरहेको  थिएँ , रातको नौ बजेतिर मेन गेट खोलेको आवाज सुनेँ । अगाडिको बरान्डामा गएर तल हेरेँ । इन्दिरा छोरीलाई पिठ्यूमा बोकेर उभिएकि थिई । त्यसकै छेउमा महेश आफ्नो बाइक भित्र राख्न लाग्दैथियो । हँ , महेश ! म तिनछक परेँ । मैले केहुि सोच्नै सकिन । मलाई महेशलाई त्यहि गएर हान्दिऊँ हान्दिऊँ लाग्यो तर रक्सिले राम्रोसगँ अडिएर बस्न पनि सकिरहेको थिईन । इन्दिरा माथि आउँदै गरेको आवाज सुनेँ । म बैठक कोठाको कुर्चिमा गएर बसेँ । ऊ सरासर आएर छोरिको कोठामा पसि ।  मैले ' ओइ इन्दिरे! ' भनेर बोलाएँ । "ओइ सुनिनस् ? यहाँ आइज भनेको ," मैले फेरि लडबडिएको स्वरमा भनेँ । ऊ मेरो अगाडि नआइकन भान्छामा गएर केहि पकाउन लागेजस्तो गर्न थाली । म भान्छामै गएर उसलाई तथानामका गालीहरु गर्न थालेँ । ऊ सुक्क सुक्क गर्दै रुन थाली तर मलाई उसको आशुँले केहि फरक नै परेन । मैले आफु अगाडिका भाडाँहरु पनि सब लात्तिले हानेर फ्याकिदिएँ । पल्लो कोठामा छोरी उठेर रुन थाली । इन्दिरा त्यतै छोरी भएतिर जान लाग्दै थिई मैले उसको कपालमा समातेर तानेँ ।उसलाई झापड हान्नका लागी हात पनि उचालीसकेको थिएँ , उसले दुबै हात जोडेर ' मलाई माफ गरिदिनु ' भनिरहि । यताको हल्लाले उता छोरी झन् चर्को रोइरहेकि थिई । मैले उसलाई यत्तिकृ छाडिदिएँ र माथि कोठामा गएँ । इन्दिरा त्यो रात छोरीसगैँ सुति । 
           अर्कोदिन बिहानै म घरबाट अफिसतिर लागेँ । अफिसकै क्यान्टिनमा बिहानको खाना खाएँ । दिनभरजसो पनि अफिसमा काम गर्ने मुड नै भएन । साझँ पनि बाहिरै खाना खाएर घर फर्किएँ । इन्दिरा टि.भि. हेर्दै थिई , म छोरीको कोठामा पसेँ । ऊ निदाएकी थिई , एकटकसगँ उसको अनुहार हेरिरहेँ । उसका आखाँ र नाक ठ्याक्कै मेरोजस्तै थिए । म त्यहाँबाट उठेर सरासर माथि कोठामा गएर सुतेँ । निकै रातसम्म पनि अहँ निन्द्रै परेन । बिहान उठेर मर्निङ वाकमा गएँ । घरमा फर्किदा छोरी कापी र कलम लिएर होमवर्क नर्न लाउँदैथिई भने इन्दिरा भान्छामा तरकारी काट्दै थिई । म पत्रिका लिएर छोरीको नजिकै गएर बसेँ । " मेरी छोरीले के गर्दैछौ ? " मैले मुस्कुराए झैँ गर्दै सोधेँ । अहँ उसले केहि जवाफ नै दिेइन । " छोरी मसगँ रिसाएकी छौ हो ? " मैले उसलाई काखमा राख्दै सोधेँ । ऊ त केहि नबोली हत्तपत्त मेरो काखबाट झरी र पुन होमवर्क गर्न थाली । उसको यो सब क्रियाकलाप मलाई निकै अनौठो लाग्यो । म नबोलिकन छेउमा पत्रिका पढेर बस्न थालेँ । ऊ सरासर भान्छामा गई र ' ममि मलाई यो आएन ' भन्दै इन्दिराको काखमा बसी । मलाई असह्य पिडा भयो । माथी कोठामा गएर निकैबेर रोईरहेँ । बाथरुम पसेर नुहाएँ र अफिस जाने तरखर गर्न थालेँ । इन्दिराले भान्छामा खाना पकाउदै थिई , छोरी आफ्नो होमवर्क गर्नमै ब्यस्त थिई , म चुपचाप अफिस जानका लागि निस्किएँ । महेश त मेरो अगाडी पर्न छोडिसकेको थियो । 
        त्यो रात मलाई घर फर्किन मन नै भएन । राजेशको घरमा गएर बसेँ । फेरी त्यो दिन हामि दुबै जनाले रातभर रक्सि खायौँ र उसले फेरि आफ्नो पारिवारिक कुराहरु सुनायो । म भनेँ त्यो रात एकदम चुपचाप रक्सि खाइरहेँ । अर्को दिन त्यतैबाट अफिस गएँ । साझँ निकै अबेर घर फर्किएँ । गेटको घन्टि बजाएँ तर कोहि पनि गेट खोल्न आएन । छेउमा हेरेको त ताल्चा लगाएकै रहेनछ । भित्र गाडि पार्क गरेपछि थाहा पाएँ त्यहाँ त महेशको बाईक नै थिएन । उसको ढोका पनि बाहिरबाट सामान्य रुपमा मात्रै लगाइएको थियो । गएर ढोका खोली हेरेको त भित्र पुरै खाली थियो । उसले फ्ल्याट छोडिसकेको रहेछ । एकाएक मनमा चिसो पस्यो । दौडिदै माथि उक्लिएँ । माथि त पुरै अध्यारो थियो , पुरै सुनसान थियो । 
        त्यहाँ न इन्दिरा थिई , न छोरी स्मृति । 



Monday, June 16, 2014

सुमन भट्टराई - लघुकथा- "पुस्ताअन्तर"

कलेजबाट फर्किँदै गर्दा एउटा घरमा कुरा गर्दै गरेका तिन व्यक्तिलाई सुनेँ। सायद आमा, छोरो र बुहारी हुनुपर्छ।
बुहारीले भनी- "एउटा घरमा एउटा केटो र एउटी केटी मात्रै बस्दा रछन्। मलाई त अवैध सम्बन्ध हो झै लाग्यो तिनीहरूको!"
"हजबेन्ड एन्ड वाईफ होलान् नि!" छोरोले जवाफ फर्कायो।
आमाले तिनीहरूलाई पहिले देखि नै चिनेकी थिन् क्या र भनिन्,"हैन, तिनीहरू बुडा र बुडी हुन्!"
छोरो र बुहारी हाँसे। एकैछिनमा छोरोले स्पष्टीकरण दिँदै भन्यो-"मैले त्यै त भन्या त आमा! बुडाबुडीलाई अङ्ग्रेजीमा हजबेन्ड एन्ड वाईफ भन्छन्।"



Monday, June 9, 2014

जीवन 'पीडित' दहाल - लघुकथा_चाख

     लेकको पानीले निथ्रुक्क हुनेगरि भिजाएकाले लगलगि काम्दै भए पनि पूजाअर्चना सकें र दुइहात जोडेर कालिन्चोक भगतीका मूर्ति सामु उभिएर भनें–‘प्रणाम माता ।’

    मेरा उपस्थितिले भगवतीको अनुहार झन मलिन भएको अनुभव हुन गयो मलाई अनि मैले सानो स्वरमा साउति मारेर सोधे–‘मलाई देखेपछि किन तिम्रा मुहारको कान्ति हरायो माता ? तिमी खुशिहुनु पर्ने होइन र ?’
मैले प्रश्न राखिसक्न नपाउँदै भगवतीले अलि रोष भरिएको स्वरमा भनिन्–‘देखेको छैन मेरो हविगत र बुझ पचाएको ? तिमीलाई एकझर पानीले भिज्दा यस्तो छ म कसरी सताब्दियौं देखि यो हुरहुरे डाँडामा रहेकी हुँला ? आफैं अनुमान लगाउ न ।’

    मैले देवीको आसय त बुझें तर पनि मैले लाचार भएर बुझ पचाउँदै भनें–‘म पनि के गर्न सक्छु र माता ? आफू त परें खल्तिटाट लेखक, धन्न ब्यापारी इष्टहरुका सौजन्यतामा तिम्रो दर्शन गर्नसम्म त आएँ तर तिम्रो शिरमाथि छानै हाल्ने हविगत त कहाँ छ र मेरो ?

     मेरो कुरा सुनेर देवीको मुहारमा झन निरासाको बादल मडारियो अनि उनी बाह्रबिसे बजार तिर एकोहोरिन । अनि भगवतीलाई एकैछिनमात्रै भए पनि खुशि बनाउँनु प¥यो भन्ने ठानेर मैले भनें–‘मैले नसके पनि एउटा उपाय भनें छ माता तर तिम्रो अनुमति चाहिन्छ ।’

    ‘के उपाय छ भन त’–देवीले अलि उज्यालो अनुहार बनाएर मेरा कुरामा चाख देखाउँदै भनिन ।
‘कालिन्चोक भगतीको मन्दिर बनाउँने भाकल गरे प्रधानमन्त्री पक्का; भनेर काठमाण्डौमा हल्ला फिजाइ दिनुपर्छ अनि यस स्थानमा एउटामात्र हैन कुरीसम्म मन्दिरै मन्दिर हुन्छ ।’–मैले भगवतीलाई ढाडस दिएँ ।



 

Friday, June 6, 2014

लिला रिजाल - लघु कथा_शंका ,


दशैंले छोपिसक्यो | अफिस आज अन्तिम दिन जानै पर्ने किनमेल पनि ढिला भै सक्यो ... नानीहरुको स्कुल पुग्नु पर्ने .. उफ्फ.... ” “येतिखेरै फोन ... रिसाउँदै शान्ताले फोन उठाइ । ...
“हेल्लो हजुर शान्ता बेनामे हैन महिला सहकारी सस्थाको मान्छे ?’
“ हो भन्नुस के छ ?”
“सुन्नोस न एउटा कुरा अस्ति ब्लड डोनेशन तपाईले पनि गर्नु भो हैन ? त्यो ग्रुप २० जनामा २ जनालाई एच आइ भी पोजेटिभ देखिएको छ है नाम पनि शान्ता नै हो । ल्याब रिपोर्ट ल्याउदा हेरेको थिएँ क्या त अस्ति प्रोग्राममा .. ,,अब त चिन्नु भो हैन ? हतारमा छु के हो अफिसमा आएर बुझ्नु ल फेरी भोलि बाट त अफिस बन्द हुन्छ नि” ।
शान्ता फोन राखेपछि पर्सेको बोको झैं भइ अहँ यो म हुनै सक्तैन रिपोर्ट गल्ति हुन सक्छ फेरी स्वास्थ्य कर्मी हो कसरि झुट ? ...........कतै २ जनामा मेरै नाम त परेन ? धत् कसरी हुन्छ ? किताब पल्टाइ हेरी .. ए... साँची अस्ति हस्पिटलमा पो गडबड गरेछ क्यार पक्कै नर्सको अनुहारै रिस उठ्दो थियो ।,....दुर्घटना हुदा सघाएको नि ! .. के भर श्रीमानले पो सारे कि ? धत् म पनि कति पापी यस्तो भलाद्मी मान्छेलाई सोच्ने ? यदि सांचिकै हो भने त नानीहरु त टुहुरा हुने भए फेरी आफन्त ...समाजमा कसरि मुख देखाउने ? उफ्फ... अहिले नै गएर टुंगो लाउछु | फेरी के भन्दै जानु त्यहाँ ? ... नजादा झन ..... उ छटपटिन थाली किन हो श्रीमान् को अनुहार हेर्ने मन लागेंन बोलिन पनि ।
दौडदै अफिसमा गएर हेरी कर्मचारी हरु फिल्डमा गइसकेछन | भोलि पल्ट पुग्दा सम्बन्धित विभागका कर्मचारी दशैं छुट्टी लिएर गइसकेका रहेछन निरस मन लिएर फर्की नानीहरु खुसीले उफ्रिदै मामाघर जाने पिंग खेल्ने तयारीमा जुटे अहँ उसका निम्ती यो दशैं दशा बन्यो |
बडो तनाबमा ७ दिन काटे पछि मुस्किलले नामावली हेर्ने बल्ल साइत जुर्यो .......ढुक्क भएर लामो सास फेरी अहिले सोच्दै छे यो ७ दिनले नै ७ बर्स जस्तो लामो यति गलायो सांचिकै हुनेहरुको मन कस्तो होला ! पुकारी हे दुर्गा भवानी रक्षा गर यो पल कहिल्यै कसैलाई नआवोस |||



 

Tuesday, June 3, 2014

दीपक जडित - लघु-कथा : प्रोत्साहन

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै  समयमा कार्यक्रम स्थलमा पुगिन् र श्रोता दीर्घामा आसन जमाईन् ।
कार्यक्रम सुरुभयो । प्रमुख अतिथि बनेकि उनको मनपर्ने लेखिकाले यस क्षेत्रमा नारी हस्ताक्षरहरु देखा नपरेकाले नारीहरुलाई साहित्य लेखनमा अभिप्रेरित गर्नलाई नै यो गोष्ठी आयोजना गरिएको भन्दा उनले ति महान लेखिकाको मनमनै प्रशँसा गर्दै जोड जोडले ताली बजाईन् । गोष्ठीमा भेला भएका सबै साहित्यकारहरुले आ आफ्नो साहित्य रचना पाठ गरिसकेपछि मञ्चमै आसन प्राप्त गर्ने गरी आमन्त्रित स्थानिय नारीहरुलाई उदघोषकले साहित्य रचना भए पाठ गर्न अथवा यस साहित्यिक गोष्ठीको सम्बन्धमा प्रकाश पार्न आग्रह गर्दा मञ्चमा आसिन स्थानिय नारीहरुले मुखामुख गर्दै हामीलाई त केहि आउँदैन भनेको सुन्दा उनलाई आफ्नो सहरकै बेईज्जत भएको महसुस भयो र श्रोता दीर्घाबाट उठेर आफ्नो कविता पाठ गर्ने अनुमति मागिन् ।
कविता पाठ गरिसक्दा तालीको गड्गडाहट सहित प्राप्त वाहवाहीले प्रसन्न उनमा तुरुन्तै ति नै नामुद लेखिकाले उनको कविताको तारिफ गर्दै ओझेलमा परेको प्रतिभालाई यसरी अगाडी ल्याउन सकेकोमा यो साहित्यिक गोष्ठी उध्येश्यमा सफल रहेको भन्ने टिप्पणी गर्दा प्रसन्नताको सीमा नै रहेन । यस्ता प्रतिभाहरुलाई हामी सँधै प्रोत्साहन गर्न चाहन्छौं भन्दै टिप्पणीमा थपेकि पनि थिइन् ति प्रख्यात लेखिकाले । कार्यक्रम समाप्ती पछि देवकी आफ्नो कविताको एकप्रति लिएर ति नै नामुद लेखिका समक्ष पुगिन् र तिनको चर्चित साहित्यिक पत्रिकामा आफ्नो कविता प्रकाशन गरिदिन अनुरोध बिसाईन् । ति लेखिकाले पुन एकपटक देवकीको कविता हातमा लिएर गौरसाथ नियाँलेपछि बडो साहित्यिक ढाँचामा जवाफ दिईन् , ‘ तपाईंका साहित्यिक बालीहरु अहिल्यै राजधानी भित्र्याउने बेला अलि भएको छैन ; बरु यतै मोफसलकै कुनै पत्रिकामा प्रकाशन गरे हुन्छ । ‘
 
 
 
 
 
 
 

विवेकराज श्रेष्ठ - कथा : मैले च्यातेको चिठी

एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन साथीहरु; हो संजिव, सरोज र म एकदम मिल्ने साथी थियौं। औसत विद्यार्थी थियौं हामी, कम-से-कम हाम्रो क्लास ६ को नतिजाको अनुसार।
क्लास ६ पास भएर करिब एक महिनाको छुट्टी पछि क्लास ७ सुरु भएको दिन अचम्ममा परें, आफ्नो क्लासमा थुप्रै नयाँ अनुहारहरु देख्दा। नयाँ बिद्यार्थीहरुको भिडमा, मेरो परिचित अनुहारहरु मध्ये मैले संजिवलाइ मात्र देखें, सोचें सरोज आएको रहेनछ।
“ओए !! यहाँ आइजो” संजिवले क्लासको तेस्रो बेञ्चबाट हात उठेर मलाई बोलायो; मेरो लागि सिट राखिदिएको रहेछ। गएँ र हात मिलाएँ ; गा.बि.स.को सानो स्थानीय स्कुलबाट सहरको नाम चलेको बोर्डिंग पुगेको ३ बर्षमै साथीहरुसंग हात मिलाउने त्यो सहरिया शैलीमा आफुलाई भिजाइ सकेको रहेछु। सहजतापूर्बक बसें र सोधें, “खै, सरोज आएन?”। “ल ! तलाईं थाह छैन? सरोज त सैनिक बिद्यालय पढ्ने भयो नि अबदेखि।”संजिवले जवाफ दियो। सरोजका बा, जो सरकारी सेवामा हुनुहुन्थ्यो त्यो बेला, सरोजलाई सोर्स-फोर्स लगाएर सैनिक बिद्यालय भर्ना गराउनु भएको रहेछ। संजिव र सरोजका बा एउटै कार्यालयका कर्मचारी थिए, संजिवका बा ले पनि संजिवलाइ सैनिक स्कुल भर्ना गराउन खोजेका रहेछन, सायद उनको बा को चिनजान अलि कम्जोर भएको हुनुपर्छ, संजिवले भने भर्ना पाएनछ। यी सबै कुरा संजिवबाट नै थाह पाएँ मैले। अहिलेको जस्तो “फेसबुके” जमाना थिएन, त्यो बेला। त्यो बेला घरमा टेलिफोन राख्न पनि “मन्त्रीको तोक” चाहिन्थ्यो। म जस्तो सामान्य परिवारबाट आएको मान्छेले संजिव र सरोजको घरको जस्तो त्यो सुबिधा पाउने कुनै सम्भावना थिएन। सोहि कारणले पनि सरोज र संजिवसंग त्यो एक महिना मेरो कुनै सम्पर्क हुन पाएको थिएन र सरोज मलाई “जान्छु है” पनि भन्न नपाई स्कुल परिवर्तन गरिसकेको रहेछ। त्यसैले, नसोधी गयो भनेर शिकायत गर्ने कुनै ठाउं त थिएन, तर मन कहाँ मान्दो रहेछ; दुखि हुनबाट आफुलाई रोक्न सकिन।
क्लास ७ पुग्नुको अब कुनै उमंग रहेन मनमा। मेरो उमंग खिन्नताको कुहिरोमा कतै धुमिल भैसकेकोरहेछ। संजिवजस्तो अरुसंग सजिलै घुलमिल हुने खालको पनि थिइन म। छिट्टै उसले कक्ष्याका अरु नयाँ अनुहारहरुसंग आफ्नो परिचय बनाइहाल्यो र गफिन थालिहाल्यो। मलाई भने खै कस्तो न्यास्रोपनले समातेको रहेछ, केहि दिन पढाइमा ध्यान पनि दिन सकिन, रमाइलो केहि लागेन। संजिवले सायद त्यो कुरा ख्याल गरेछ क्यारे, उसले मलाइ एक्लै छाड्न छोड्यो। आफु गफिंदा हाम्रो कुराहरु सुनाउन थाल्यो हाम्रो अगाडी र पछाडीको बेन्चको साथीहरुलाइ; तीनबर्ष अघि मात्र सुरु भएको हाम्रो मित्रताको क्रममा गरेका उत्फ़त्याङ्ग कुराहरु सुनाउने गर्नथाल्यो। म पनि सुनेर रमाउन थाल्ने भएँ। संजिव कै कारण केहि साथीहरुसंग परिचय पनि भयो। त्यसै क्रममा बेञ्च अगाडी बस्ने तीनजना केटि साथीहरु मध्ये एउटी साथी राम्री रहिछिन र नरम बोल्दि रहिछिन् भन्ने मनमा पर्यो, नाम भने सुजाना रहेछ; नाम पनि मनपर्यो।
दिनमा ८ वटा क्लास पढाइ हुने बोर्डिंग स्कुलमा नेपाली बिषयको पढाई हप्तामा तीन क्लास मात्र हुने गर्थ्यो। नेपालीमा बोल्न सहज महसुस गर्थें म र अरु बिषय भन्दा नेपालीको क्लास बढी रमाइलो लाग्थ्यो मलाई, जसले गर्दा नेपाली क्लासको प्रतिक्ष्या गर्ने गर्थें म। थाह छैन, त्यति बेला त्यो मेरो जिद्दीपाना थियो या मातृभाषा प्रतिको प्रेम, म हाम्रो स्कुल जहाँ अंग्रेजी बाहेक अरु भाषा बोल्न पाइन्थिएन, नेपाली बोलेको भेटिए बापत सजायं स्वरूप स्कुल प्रार्थनाको समयमा सबैको अगाडी दिनहुँ उठबस गर्न तयार भएर स्कुलको त्यो जड नियममाथि मौन बिद्रोह गर्दै थिएँ। सायद स्कुलको नियम बिपरित नेपाली बोलेर दिनहुँ सजाय भोग्ने मान्छे भनेर स्कुलका सबै ले चिन्थे मलाई। नेपाली पढाउने शिक्षिका “निलिमा मिस” पनि मेरो माया लागेर स्कुल नियम पालन गर्न सल्लाह दिन्थिन, तर म मान्थिन। नेपाली पढाउने क्रममा बेला बेला बिद्यार्थीलाइ विभिन्न प्रश्न सोध्ने गर्थिन निलिमा मिस, प्राय राम्रो जवाफ दिने विद्यार्थी म नै हुन्थे, तर अब त्यो स्थिति बद्लिन थालेको आभास हुन थाल्यो, जव सुजानको जवाफ निलिमा मिसलाइ मेरो भन्दा मनपरेको महसुस हुन थाल्यो। म भित्र कता-कता जलनको झिल्का सल्किंदै गरेको म महसुस गर्न थालें। हुन पनि उनि नेपालीमा पोख्त रहिछिन्, दमदार र चित्त बुझ्दो जवाफ दिने गर्थिन प्राय सधैं। तर त्यो बेला मैले त्यो कुरा स्वीकार गर्न चाहिन। संजिवले यो कुराको पनि सुइँको पाइसकेको रहेछ, मलाई चिढ्याउन उसले “वाह, क्या दामी बोलि है त्यो केटिले” भन्ने गर्न थाल्यो। मलाई संजिव संग पनि बोल्न मन लाग्थेन उसले त्यसरी मलाई गिज्याउँदा, बोलेर प्रतिकार गर्न सक्थिन उसंग, मात्र मौन प्रतिकार गर्ने गरेँ। तर उसले जिस्काउन छोडेन। मलाई अब राम्री लाग्ने सुजाना नराम्री जस्तो लाग्न थाल्यो, उनको नाम पनि मन नपरे जस्तो लाग्न थाल्यो।
स्कुलले हरेक बर्ष भिभिन्न अतिरिक्त क्रियाकलाप गराउने भनेर धेरै थरि प्रतियोगिता गराउने गर्थ्यो। ति कुनैमा मेरो चासो कहिले पनि भएन। यसपाली पनि प्रतियोगिताको सुचना आएको रहेछ, नेपाली भाषामा वक्तृत्वकला प्रतियोगिता हुँदै रहेछ। खाजा खाएर क्लास फर्किने क्रममा संजिवले अघिल्ला बर्षहरु झैँ “भाग लिई न, तेरो नेपाली राम्रो छ। ” भनेर भन्यो। मैले “ह्या, छोड्दे मलाई केहि लछार-पाटो लाउनु छैन” भन्ने खालको जवाफ दिएँ र हामी कक्ष्या कोठा पस्यौं। नेपाली बिषयको क्लास थियो , निलिमा मिस आउनु भयो र पढाउन सुरु गर्नु अघि नै सोध्नु भयो, “यसपालिको वक्तृत्वकला प्रतियोगितामा क-कसले भाग लिंदै छौ त? कक्ष्या मा केहि हात हरु उठे, ति मध्य मेरो अगाडी बाट एउटा हात उठेको रह्छ त्यहि सुजानाको; त्यो हात मेरै विरुद्ध उठे जस्तो लाग्यो। उठेका हातहरु मध्य मेरो हात नदेख्दा, निलिमा मिसको सोझो नजर म माथि पर्यो तर चुपचाप रहेरै केहि बोले जस्तै लाग्यो। लाग्यो त्यो हेराइ हैन कुनै अस्त्र हो जसले मलाई घोचिरहेछ। नेपाली क्लास पढुन्जेल नै असजिलो जस्तो भइनै रह्यो। नेपाली क्लास सक्ने बित्तिकै हानिएँ – हाम्रो स्कुल इन्चार्ज बिन्दु म्याडमको अफिसमा र आफ्नो नाम लेखाएँ प्रतियोगिताको लागि। संजिव पनि पछि-पछि आएको रहेछ, उसले मैले नाम लेखाको थाह पाएर पनि मुखले केहि भनेन तर मुसु-मुसु हास्दै थियो र उसका आँखा भन्दै थिए, “अघि त खूब भन्दै थिइस त -केहि लछार-पाटो लाउनु छैन, अहिले आएर के भो नि?”। मैले मलाई खिसी गरिरहेको उसको आँखामा आँखा जुधाई राख्नसकिन। नजर मोडेर क्लास फर्किएँ।
तयारी जोड-तोड गरेँ, “हरियो बन, नेपालको धन” शिर्षकमा पाइने लेखहरु टन्न पढें। घरमा भएका बा ले पढाउने अस्कलबाट ल्याउनु भएका स्मारिकाहरु सबै पल्टाएँ। सक्ने जति आफुलाई तिखारें, मलाई जसरि पनि प्रतियोगितामा प्रथम हुनु थियो। प्रतियोगिताको दिन सब भन्दा पहिले मलाइ नै बोल्न लगाइयो, डरले थुर-थुर कापें। माइकमा बोलेको पहिलो अनुभव थियो त्यो, बोल्दा आफ्नो आवाज नै आफ्नो हैन जस्तो लागिरहेको थियो तर पनि धन्न तयारी गरेर गएको भनौं या घोकेको कुरा भने बिर्सिएन सबै बोलेर फ़र्केछु। सुजनाले पनि बोलिन, सधै जस्तो राम्रो। तर मलाई राम्रो लागेन, किनकि त्यो भाषणले मलाई तर्साइरहेको थियो आफ्नो हार प्रति। अरुले के बोले मैले खासै मतलब पनि गरिन। प्रतियोगिता सकिए पछि नतिजा घोषणा गर्दा ढुकढुकी छातिमा हैन, घाँटीमा महसुस गरे जस्तो लाग्यो; स्वास पुरै अड्के जस्तो लाग्यो। आँशु बगेछन आँखा बाट जब प्रतियोगिता मा आफु प्रथम र सुजान दोस्रो भएको नतिजा आयो। नजिक आएर मेरो जितको लागि पहिलो बधाई दिने हात सुजाना कै थियो। बधाईका शब्दहरुसंगै उनले थपिन्, “मलाई थाह थियो प्रथम तिमी नै हुन्छौ भनेर; म त दोस्रो हुन भिडीरहेथें”। इमान्दारितापूर्बक उनले बोलेका शब्दहरु सुनेपछि बल्ल उनि निर्दोष र निष्कपट देखें। महसुस गरेँ, इर्ष्या र जलन म मा मात्र रहेछ, उनीमा रहेनछ – ग्लानि भो। आफ्नो सोचको कारण जितको लगत्तै म फेरी हारें, आफैंसंग अथवा भनौं आफैं बाट। त्यति बोलेर उनले मेरो मनमा छापेकी थिइन – उनि प्रति मेरो श्रद्धा। आगामी दिन म उनि प्रति केहि सहज हुन सकेँ, खुलेर बोल्न सकेँ। त्यो दिन संजिव चुप थियो, र सुजानासंग बोल्नेमा थिएँ – म। अरु दिनहरु पनि क्रमश कुराहरु हुँदै गए हाम्रा, गफ पनि अटो भरे जस्तो लाग्ने- मनपर्ने रंग, मन पर्ने खाना, मनपर्ने कलाकार, मनपर्ने फिल्म, घरको कुकुर आदि इत्यादीको बारे यावत् कुराहरु भए। थाह थिएन किन यस्तो गफ गर्दै थियौं हामी त्यस्ता, सायद क्लास ७ मा गर्ने कुराहरु अरु थिएनन हाम्रा। साथीहरुसंग गफ गर्न खासै नजानेर पनि होला। पाठ्य पुस्तकमा लेखेको कुरा बोल्नु जस्तो सजिलो हुँदो रहेनछ, मान्छेसंग बोल्न।
संजिवले स्कुल सकिएपछि स्कुलमै बास्केट बल प्रशिक्षण लिन थालेपछि उ अवेर सम्म स्कुलमा नै बस्ने भएकोले स्कुलबाट घर फर्किंदा मिनभवनको बस्-स्टप सम्मको साथी सुजाना हुन थालिन्। मिनभवनबाट उनी उकालो लाग्थिइन भने म कोटेश्वरतिर। सायद सुजाना मलाइ सामान्य रूपमा नै लिने गर्थिइन तर मलाई बिस्तारै अलि भिन्न महसुस हुन थाल्यो। केटिसाथीसंगको त्यो निकटताले मलाई असहज बनाइरहेको हुनुपर्छ भनेर म केहि दिन चुप नै बसें। संजिवलाइ यो कुरा सुनाउंदा ठाडै भन्दियो, “तेरो लभ पर्या छ, सुजाना संग” भनेर भन्दियो। “जा, नकरा!! त्यस्तो केहि हैन” मैले भने, तर मनमा आफै भने ढुक्क थिइन, “कतै म सुजानालाइ मन पराउन त थालिन?” भन्ने शङ्का मन भित्रै थियो।
राति सुत्ने बेला मनमा कुराहरु खेलाउन थालें, “कतै सुजानाले त मलाई मनपराउँदिन ? हरेक दिन त्यतिका साथीहरु हुन्छन घर फर्किंदा, हामी नै सधैं किन संगै हुन्छौं अचेल? मलाई सेलरोटि मनपर्छ भन्ने थाहा पाएदेखि घरमा सेलरोटी पाकेको दिन मलाई किन त्यसको खाजा ल्याएर दिन्छिन? ” म सोच्छु,”हो, पक्कै उनले मलाइ मन पराउँछिन”। फेरी अर्को मनले सोच्यो , “धत्, के नचाहिने सोचेको, मिल्ने साथी भएपछि यति पनि गर्दिनन त ? ” आफ्नै कुरा आफै काटें। गर्मी भए जस्तो भयो, उकुस-मुकुस हुन थाल्यो। उठेर कोठाको झ्याल खोलें, पानी पिएँ र पल्टेर फेरी सोच्न थालें, “कतै म पो उनलाई मन पराउँदिन ? स्कुल छुट्टी भए पछि केटाहरु को लाइन बाहिर निस्केको बेला, गेट बाहिर उनलाई कुर्ने पनि त मै हुँ। वक्तृत्वकलामा उनले भाग लिए पछि नै मैले भाग लिएको थिएँ, के त्यो उनी प्रतिको इर्श्या मात्रै थियो ? अभिभावक दिवस मा उनले तामाङ् लुगा लगाएर नाच्दा म किन अवाक भएको थिएँ, के म आकर्षित थिइन ? कतै संजिव ले भनेको कुरा नै सत्य त हैन? “। यति सोच्दा सोच्दै उकुस मुकुस झन बढ्यो, तर यकिनका साथ यही हो भनेर ठम्याउन सकिन। त्यो रात अनिँदो नै रहें।
भोलिपल्ट स्कुलको नोटिसबोर्ड मा टाँसिने, साप्ताहिक भित्ते समाचार तयार गर्ने जिम्मा हामी दुइ जनालाइ दिइयो। त्यसैको लागि मिनभवन गएर चार्ट पेपर किनेर फर्कंदै थियौं अकस्मात् ठुलो पानी पर्यो, कुदेर स्कुल पुग्न खोज्दा हामी पानीमा भिजिसकेका रहेछौं। पानी दर्केकोले उपाय लागेन, ओत लाग्न मैले उनको हात तानेर स्कुलले ठाउं ठाउंमा बनाइराखेको शेडमा लगें। असारको पानी मुशाल्धारे भएर बर्शिरेह्को थियो, शेड को जस्ता मा बज्रेर निरन्तर झररर अवाज गर्दै थियो। नजर लुकाएर उनलाई हेरें, आफ्नो भिजेको कपाल सुकाउने असफल प्रयास गर्दै रहिछिन्। चिसोले काँप्दै पनि थिइन। काँप्दै गरेको देखेर नजिकैको चिया पसल लगेर चिया खाउँ भन्न मन लाग्यो, तर गोजीमा घर फर्किन राखेको ५ रुपैंया बस् भाडा बाहेक केहि नभएको यथार्थबोधले आफैलाइ खिन्न बनायो। बल्ल महसुस गरेँ, शेड बाहिर परेको पानीमा भन्दा बढी त म प्रेममा भिजेको रहेछु। चिया किन्न नसक्दाको खिन्नताले मेरो अघिल्लो रातको हरेक जवाफ हरु को उत्तर दिए झैँ लाग्यो। किनेर ल्याएको चार्ट पेपर हेरेँ, भिजेर लतक्कै गलेको रहेछ, तर त्यो भन्दा बढी मैले मेरो मन फतक्कै गलेको पाएँ उनको मायामा।
आफ्नो मनको कुरा त बुझें, तर त्यो उकुसमुकुस शान्त भएन। मनको कुरा उनलाई नभने सम्म शान्ति पाउछु जस्तो लागेन, संजिवसंग भने। मोरो फेरी मुसु मुसु हाँस्यो, मात्र आखामा एउटा भाव पोख्दै ” देखिस भन्या थिएँ त मैले, अस्ति त खूब- ‘त्यस्तो केहि हैन’ भन्थिस नि “। मैले अब भने हैन भन्न सक्ने अवस्था थिएन, सल्लाह उसैको चाहिएको थियो। उसले कुनै गिफ्ट ल्याएर दे अनि सबै भन् भन्यो। “त्यति सजिलो कहाँ छ? साथीहरु हुन्छन, मलाई डर पनि लाग्छ”। मेरो डर भगाएर साहस भर्ने काम उसैले गर्यो या भनौं मलाई उक्सायो। भोलिपल्ट लन्च टाइममा “क्लासमा सुजाना मात्र छे, जा !!” भनेर खबर उसैले दियो। एउटा कुनामा गएर खल्तीमा रहेको मेरो मुटुको प्रतिक भनेर पान आकारको बेलुन फुकेर दिने बिचार गरेँ र मेरो भावना लेखिएको एउटा पत्र आफ्नो प्यान्टको पछाडी को खल्तीमा राखें। साच्चै क्लासमा उनी मात्रै रहिछिन, डराई-डराई अगाडी गएँ, उनको आँखा रातो भएको सम्म देखें। त्यसपछि अचानक आवाज आयो – डुम्म। झय्साङ्ग भएँ र देखें – उनको हातमा एउटा सेफ्टी पिन। यस्तो लाग्यो त्यो पिनले उनले बेलुनमा हैन, सिधै मेरो मुटुमा घोचिन। त्यो फुटेको बेलुन हैन, मेरा रहरहरु हुन। म बोल्न सक्ने अवस्थामा रहिन, आँखाबाट मेघ बर्षेला जस्तो के लागे थियो, रुने मान्छे म हैन उनी पो निस्कीइन। मलाई झन डर लाग्यो, मैले प्रस्ताब गर्नु अघि नै यस्तो भो !! क्या ब्याड लक् भनेर आफ्नो चिठी च्यातेर डस्ट-बिन मा मिल्काएँ र बाहिर निस्किएँ। त्यो दिन जस्तो खराब दिन मेरो कहिल्यै भएन।
अर्को दिन, क्लास भैरहेको बेला मेरो हात मा अगाडीबाट एउटा सानो चिट आयो। लेखिएको थियो “आइ एम सरी “। जवाफी चिट लेखें ,”इट्स ओके “। फेरी लेखिन, ” आइ नो हाउ उ फिल”। झोक चलिहाल्यो, लेख्दिएँ “नो; यु डोन्ट “। फेरी अर्को चिट आयो -” आइ नो; यु लभ मि “। अचम्म परें, तर पनि अघिल्लो दिनको रिस अझै मरेको रहेनछ, ” नो आइ डोन्ट” लेखेर चिट दिएँ। जवाफ आयो ” त्यसो भए, आइ डोन्ट इदर ..”। झन रिस उठ्यो एक छिन त, तर सोचें चिटमा लेखिएको शब्दमा घोरिएँ “त्यसो भए ….” मतलब के त्यसको ?? फेरी देखें, त्यो नोट मा कोरिएको – आखा झिम्क्याइरहेको एउटा सानो आकृति। धेरै कुरा भन्दै थियो त्यहि “त्यसो भए ….” र त्यो कोरेइएको आकृतिले। मैले बल्ल आखा उठाएर सुजाना तिर हेरें, हिजो जस्तै रोइ रहेकी हैन मुस्कुराई रहेकी रहिछिन् र एउटा किताबभित्र केहि राखेर दिइन। खोलेर हेरें – टेपले टालेको हिजोको मेरो च्यातेको चिठी अनि फुटेका बेलुनका टुक्रा”। त्यसैलाइ मेरो प्रेमको सम्मानको रुपमा लिएँ र उनका आँखाले बोल्दै गरेका भावलाइ मौन स्वीकृतिको रुप मा बुझें। त्यतिबेलै मन चरा बनेर खुला आकाशमा कावा खान थाल्यो, लाग्यो म खुशीले पागल भएको छु। उनीबाटै पछि थाह भयो, अघिल्लो उनको हातको सेप्टी पिनले उनी आफ्नो बेन्चको कुनामा अरुले नदेख्ने गरि लेख्दै थिइन रे – मेरो नाम। म एक्कासी आएको देखेर अत्तालिएको र मैले दिदै गरेको उपहारको उत्साहमा हातमा सेफ्टी पिन भएको हेक्का गर्न नसकेकी रहिछिन् र आफ्नै कारणले आफ़्नोलागि मायाको चिनोको त्यो हालत हुदा रुनु बाहेक अरु नआएको रे!!
 
 
 

 

दिलीप आचार्य - कथा

अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।
विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।
त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।
पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।
करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।
अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।
सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।
अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।
कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।
नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।
समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।
धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।
सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।

Monday, June 2, 2014

नारायण तिवारी - लघुकथा : भ्यालेन्टाइन डे

 
मैले बुढीसित मस्किँदै भनेँ– “होइन हौ, हामी भ्यालेन्टाइन डे नमनाउने ?”


बुढीले सदाबहार व्यस्तताकै बीच अनुहारलाई अलिकति रातो बनाउँदै भनिन्– “मनाउने, किन नमनाउने ? एकछिनपछि मनाउँला नि है...?”
एकछिन पछि, बुढीले अर्थात् मेरी श्रीमतीले एउटा कागजको चिर्कट ल्याएर दिइन् । यसमा ‘आइ लभ यु’ वा ‘हेप्पी भ्यालेन्टाइन’ जस्तो केही लेखिएको थिएन । लेखिएको थियो– “एकपाकेट नुन, तेल एकलिटर, आँटा दुई किलो, हर्दी सानो पाकेट, दाल एककिलो, चामल पाँचकिलो, नभए पनि दुईकिलो त चाहिन्छ चाहिन्छ । कुरा बुझ्या हो ? अनि मनाउँला नि भ्यालेन्टाइन डे, हुन्न...?”



 

लक्ष्मण अर्याल - लघुकथा : विश्वास


चैत महिनाको आधारात मानिसहरू मस्त निद्रामा छन् | जंगे कनफट्टा हातमा गौरी गाईको सिङ (कतै कतै हरिणको सिङ पनि बजाउँछन् भन्ने पाइन्छ) बोकेर गाउँ पस्छ | हरेक घरमा गएर जंगे भट्याउँछ | भट्याउनु अघि बाजा बजाउँछ | बाजाको एकोहोरो आवाजले रातको सन्नाटा भंग हुन्छ |
...
मानिसहरू जंगेका सम्बन्धमा तर्क वितर्क गर्छन् | कोही भन्छन् – '' जंगे मसान खेलाउँछ |'' कोही भन्छन् – '' जंगेले रातमा बजाउने बाजा त मानिसको नलिखुट्टाको हड्डी हो |'' कोही त जंगेलाई ''मानिसको मासु खान्छ'' भन्ने संगीन आरोप पनि लगाउँछन् | कसैकसैले त यसो पनि भन्छन् – '' जंगे रातदेखि डराउँदैन तर रात जंगेबाट थर्कमान छ |'' मानिसको सोचाइमा जंगे अजंगको छ तर जे जे भए पनि जंगेप्रति मानिसको असीम विश्वास छ | जंगे घर बाँध्छ, आकाश बाँध्छ र पाताल बाँध्छ | जंगेको कर्मलाई मानिसहरू 'फेरी लगाएको' भन्छन् र जंगेलाई 'फेरीवाला' |
बिहानको भुकभुके उज्यालो हुनुभन्दा केही अगाडि जंगेले भट्याउँदा भट्याउँदै पृथ्वी थर्थराउँछिन् | गुंडमा बास बसेका चराहरू चिर्विराउन थाल्छन् | एउटा अनौठो चर्चराहटको आवाज सुन्छ जंगे | ''ए ! के हुन लागेको हो यो'' – जंगे आफैंसँग सोध्छ | ''मन्त्रमा त कुनै भुल भएन ?'' – जंगे एकछिन टोलाउँछ | कत्ति सोच्दा पनि जंगेलाई भुल गरें भन्ने लाग्दैन | मानिसहरू चिच्याएको, र बचाऊ ! बचाऊ !! भनेको आवाजले जंगे तर्सन्छ | कालो रातसँग लाप्पा खेल्दै महिनाभर डुल्ने जंगे आज भुकभुके उज्यालोसँग कामेको छ |
त्रासदी बोकेर आउँछ बिहान | ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प आएको र त्यसले दुई तिहाइ घरहरू पूर्ण रूपमा ध्वस्त भएको खवर हावाको गतिमा फैलन्छ | जंगेले रातभर बाँधेका घरहरू पाताल बन्छन् |
हरेक वर्ष दुई पटक बाँधेर दु:खले पचास वर्षसम्म जोगाएका घरहरू पाताल भएको दृश्यले जंगे मर्माहत हुन्छ र मृत आमालाई पुकार्दै चिच्याउँछ –''आमा ! मैले मन्त्रमा गल्ति गरेको छैन |''


 

Monday, May 26, 2014

टीकाराम रेग्मी - फरक

“राधा, तिमी आज किन यति धेरै चिन्तित देखिन्छ्यौ ?” रमणले बादलबाट आँखा उठाएर उनलाई हेर्दै भन्यो ।
“होइन, म चिन्तित नै छु भनेर तिमीले कसरी ठोकुवा गर्न सक्छौ ?”
“तिम्रो मुखाकृति बोल्छ, मुखै बोल्न पर्दैन नि, राधा, अनुहारलाई त हृदयको ऐना भन्छन् !” “कहिले पो थियो र उज्यालो अनुहार त यिनको !” मनमनै सोच्यो ।
“ल त्यसो हो भने, मेरो मनमा अरू के के खेल्दै छन् ? भन त ।”
“तिमि निहुँ खोज्न जानेकी छ्यौ जस्तो लाग्छ ।”
“किन ? मेरो बोलि र व्यवहार तिमीले चाहे जस्तो भएन भनेर ?”
धेरै दिनदेखिको खडेरीले आलसतालस शरीरलाई दुई दिनदेखि परेको पानीले बौराएको थियो तर बादल भने अघाए जस्तो थिएन । ऊ बादलभित्र के खोज्दै थियो कुन्नी । भन्यो
– “राधा, तिम्रो चिन्तित आकृति हेर त त्यो बादलमा ।”
राधाले आफूलाई खिज्याएजस्तो मानी । “अगाडिको मान्छेलाई बास्तै नगरी बादलमा खोज्छौ ? अझ मैस“ग निहु“ खोज्ने ?”
“राधा, के ब्रहमाण्डमा हामीसबैको आकृति होला ? तिमीलाई के लाग्छ ?”
“नचाहिएको कुरा गर्दै बिताउनलाई समय छैन मसँग ।” ऊ च्याट्ठिई ।
“होइन राधा, तिमीले पनि हेर न । मैले त तिमीलाई मात्र होइन, आमालाई पनि देखें । ऊ, हेर त । यता, यता । तिमीभन्दा दायाँतिर आमा हुनुहुन्छ । हेर न कति निनाउरो अनुहार । अस्ति सपनामा त मैले हँसिलो अनुहार देखेको थिएँ ।
उसले राधालाई हेर्यो । ऊ त अघिकोभन्दा पनि अमिलिएकी रहिछे । उसले थप्यो, “राधा, के हामीले आमालाई यसरी दुख मान्नु पर्नेगरी केही गर्यौं र ? आज मलाई नरमाइलो लागिरा’छ ।” उसले बादल तिर हेर्दै फेरि भन्यो, “हेर न राधा, आमाले त आँशु नै झार्नुभयो ।”
“सँगै बसेर हरेक ईच्छा र आवश्यकता पूरा गर्ने श्रीमतीको मतलब छैन, मरेकी आमालाई बादलमा कल्पना गरेर मलाई घोच्नुपर्छ ?”
“होइन, राधा, ऊ हेर त तिम्री आमा पनि देखे“ ।”
“हो र ? साच्चै ? खोई देखाऊ त मलाई पनि !” राधाले आँखा च्यातेर हेरी ।



Saturday, May 24, 2014

अनिल याखा - प्रायश्चित


विकल्प एक सामान्य परिवारको छोरा र विना एक मध्यमवर्गीय परिवारकी छोरी फेसबुकबाट चिनजान हुदै प्रेममा डुव्न थालेका थिए । दुवै घण्टौँ च्याटिङ गर्थे र रमाउथे । समयले कोल्टे फेर्‍यो । एकाएक विनाको व्यवहार परिवर्तन भयो । उनले विकल्पलाई व्लक हानिन् अनि आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभेट गरिन् । त्यो उनको चतुरता थियो । उनको नव प्रेमी विजयले आफ्नो फेसबुक प्रेमवारे थाहा नपाओस् भन्ने चाहान्थिन् । जो भर्खरै हङकङबाट फर्केका थिए । समय वित्दै गयो । विजयले अन्ततः विनाको शरीरसंग विजय प्राप्त गर्‍यो र विनालाई वेवारिशे छोडी एक्लै फर्कियो । विना अकेली भइ अनि विकल्पको सम्झना आयो । हतार-हतार फेसबुक खोलिन् । तर विकल्पलाई भेट्टाउन सकिन । वल्ल याद आयो । हतार-हतार अनव्लक गरिन् । विकल्पको फेसबुक भित्ता उसको साथी, इष्टमित्र अनि परिवारको विशिङले भरिएको थियो । “हार्दिक समवेदना”, “हार्दिक श्रदाञ्जली”, “चीर शान्तिको कामना” आदि आदि । त्यही भित्तोमा जीवनलाई पूर्णविराम लगाउदै विनाले अन्तिम पोस्ट गरिन् ।


खलिल जिब्रान - उचाई

चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभीइरहेका थिए।
पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ वरपर यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”
दोश्रो कविले मुख खोल्यो – “मेरो भित्री श्रवण शक्तिबाट मैले गोधुली साँझमा सुनिने चराहरूको मधुर चिरबिर सुनिरहेछु। त्यस सङ्गीतको माधुर्यले मेरो हृदय यसरी कैद गरेको छ जसरी कमलको पत्रभित्र मौरी कैद हुन्छ।”
तेश्रो कविले आफ्ना आँखा बन्द गरेर आफ्ना दुबै हात माथि फैलाउँदै भन्यो – “म तिनीहरूलाइ आफ्ना यी हातहरूले स्पर्श गरिरहेछु। म ती पँखेटाहरू अनुभव गरिरहेछु मानौँ सुतिरहेकी परीहरूको मन्द श्वास मेरा औँलाहरूलाइ स्पर्श गरिरहेछन।”
चौथो कवि नजिकै गयो र कप आफ्नो हातमा लिँदै भन्यो – “दुःखको कुरा मित्रवर! म यहाँहरूले भन्नुभए जस्तो दृष्टि, स्पर्श र श्रवणमा निकै कमजोर छु। म न त यस मदिराको बासना देख्न सक्छु, न यसको मधुर सङ्गीत सुन्न सक्छु, न यसका पँखेटाहरूको स्पर्श गर्न सक्छु। म त यहाँ मात्र मदिरा देख्छु जसलाइ म पिउन चाहन्छु ता कि म मा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस र यहाँहरूको उचाईमा पुग्न सकुँ।”
अनि उसले त्यो कप उठायो र अन्तिम थोपासमेत नराखेर घट-घट पियो।
ती तीन कविहरू, आश्चर्यचकित हुँदै उसलाई हेरेको हेऱ्यै भए, अनि उनीहरूको आँखामा अतृप्त साथै नरमाइलो किसिमको घृणाको भाव प्रष्ट देख्न सकिन्थ्यो।


एकदेव अधिकारी - रोबोट

दिनभरीको भागदौड सकेर खाना खाइवरी बैठककोठामा पसेँ। कक्षा एकमा अध्ययन गर्ने छोरी नजिकै आएर बसी उसको हातमा एउटा पुस्तक थियो जसमा रोबोटको चित्र थियो।
“बाबा, यो चित्र के को हो?” बालसुलभ बोलीमा उसले मलाइ सोधी
“यो रोबोटको चित्र हो छोरी।” छोरीको जिज्ञासा मेटाउने प्रयत्न गरेँ।
“अनि बाबा यो त मान्छे जस्तै देखिन्छ त? टाउको हात खुट्टा सबै छ त?” फेरी प्रश्न आयो।
“हो छोरी यो मान्छे जस्तै देखिन्छ। मान्छे ले जस्तै कामहरू पनि गर्छ।” मैले पनि जवाफ फर्काएँ।
“अनि यसले के खान्छ त?” प्रश्नहरूको पोको फुक्यो।
“हामीले खाना खाए झैँ यसको ब्याट्री फेरी चार्ज गर्नुपर्छ।” सकेसम्म म पनि जवाफ दिइरहेँ।
“ए बुझेँ हाम्रो खाना भने जस्तै यसको ब्याट्री हुँदो रहेछ। हामी र रोबोट उस्तै उस्तै हैन बाबा?”
“फरक छ छोरी रोबोट ब्याट्री चार्ज हुनासाथ काम गर्न तयार हुन्छ तर हामीलाइ भने आराम गर्नुपर्छ।”



टीकाराम रेग्मी - पैसा

‘टिर्र‘‘टिर्र‘‘‘टिर्र’ मोवाइलको घन्टी बज्यो ।‘सर, तपार्इं कता हुनुहोला, एक पटक अस्पतालसम्म आउन भ्याउनु हुन्छ ?’ उसले सोच्यो यो पक्कै पनि समस्या बोकी आएको सन्देश हो ।
आफ्नी गर्भवती बुहारी जन्डिसले आक्रान्त भएको थाहा हुनासाथ सिङ्गै बस रिजर्भ गरी छिटो उपचारको लागि चिनेको स्त्रीरोग बिशेषज्ञको क्लिनिकमा तीन दिन भर्ना गरी राखेपछि अस्पताल पठाइएकी उनी आज पाचौं दिनदेखि अस्पतालको शैयामा लडिरहेकी थिइन । अस्पतालको उपचारले स्वास्थ्यावस्था त फेरिएछ, तर उनि त ‘हल न चल’को अवस्थामा पुग्ने गरी फेरिइछन् ।
उसले हेर्यो, बिरामीका याचनायूक्त रसिला आँखामा आँखा जुधे । फर्कदा आँखाहरू पोखरी बनिसकेका थिए । उसले आँखा पुछ्यो र घडि हेर्यो – निडलले दुई देखाइरहेको थियो। छोरो सम्बिधान बनाउने महामानवको खोजिमा दुर्गम गाउँ पुगेको थियो ।
‘प्राइभेट अस्पतालमा राख्दा फिजिसियनले हेरेनन ?’ उसले सोध्यो ।
‘खोइ, नयाँ डाक्टर त कसैले हेरेनन । उनैले दिनमा दुई पटक हेर्थे । रगत जाच्ने, भिडियो एक्सरे गर्ने, अरू पनि केजाती केजाती जाँच गरेथे । ’ उसले जवाफ पायो । ‘छोरोलाई पर्खी बस्नु त हुन्न होला सर । कतिखेर थाहा पाउला, छुट्टी पाउँछ पाउँदैन ।’ बुढाको रुञ्चे स्वरमा बोल्यो ।
‘अब के गर्ने ?’ उसले फिजिसियनलाई फोन गर्यो । ‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोवाइलको स्वीच अफ गरिएको छ ।’ स्त्रीरोग बिशेषज्ञलाई डायल गर्यो । जवाफ दोहोरियो । उनको प्राइभेट क्लिनिकको नम्बर डायल गर्यो । जवाफ पायो – ‘तपाईंले डायल गर्नु भएको नम्बर अहिले ब्यस्त छ, पुनः डायल गर्नु होला ।’ पुनः गर्यो । पुनः गर्यो । गुनासो धेरै तिर पुग्यो
दुई मिनेटमा फोन आयो – ‘तपाईको बिरामीलाई पाटन अस्पताल रिफर गरिदिएको छु, लानु भए हुन्छ ।’ । स्त्रीरोग बिशेषज्ञ रहेछन् ।
रिफर गरिएको अस्पतालमा पुर्याएको दोस्रो दिन डाक्टरले भने, ‘हामी अत्यन्त दुखी छौं, बच्चाको मृत्यु पाँच दिन पहिले नै भइसकेको रहेछ, हामी आमालाई बचाउने पर्यत्नमा छौं ।’ ऊ समेत उनका परिवार हिमशिखरबाट फेदिमा पछारिए ।
त्यसको तेस्रो दिन आमालाई पनि शबवाहनमा देवघाट ल्याई चितामा सुताइ रहँदा बुढाले भने --‘पैसाले आफन्त, चिनजान, पेशागत दायित्व सबैका आँखामा पट्टी लगाउँदो रहेछ है ?’



रमेश विकल - एकमुठ्ठी माटो र एकटुक्रो फलाम


ऊ धनी किसानको छोरो भए पनि अंशमा पाएको सम्पत्ति सबै स्वाहा बनाएर अर्काको दयामा बाँच्नुपर्ने स्थितिमा पुग्यो । तर उसले अझै पनि आफ्नो कुनै दोष देख्न सकेन । आफ्नो भाग्यलाई नै दोष दिइरह्यो ।
उसलाई धेरैले उद्यम गर्ने, जागिर खाने, व्यापार गर्ने सल्लाह दिएका भए पनि मस्तिष्क र सम्पत्ति दुवै नभएकाले घरको पिँढीमा ढिकी लडेझैँ लडेर कर्मरहित दिन बिताउँथ्यो ऊ ।
त्यस्तैमा एकदिन, उसको आँगनमा साँझपख एकजना तेजस्वी मानिस आएर उभिए । उनको कान्ति अचम्मको थियो । ती पुरुषलाई साक्षात् भगवान् सम्झिएर उसले धन र आशिर्वाद माग्यो ।
उसको त्यो हीनभाव बुझेर आगन्तुक पुरुषले आँगनबाट एकमुट्ठी माटो र एउटा मिल्किएको फलामको टुक्रो उठाएर उसलाई दिँदै– ‘मेरो आशिर्वाद र प्रसाद दुवै यही हो, यसको उचित उपयोग गर, तिम्रो भाग्यको सूर्य सायद चम्किने छ’ भनी हातमा दिए ।
आफूले साक्षात् भगवान् सम्झिएको व्यक्तिले दिएको उपहारबाट ऊ अचम्मित भयो । ती पुरुषले आफूउपर ठट्टा गरेको जस्तो लाग्यो उसलाई । तर उपेक्षा गर्न पनि सकेन । उसले धेरै रात सोच र अनिद्राको छटपटीमा बितायो ।
एकरात आँखा लोलाउनासाथ उसले सपना देख्यो । उनै अस्तिका तेजस्वी पुरुष फलामे फाली जडिएको ट्रयाक्टरले उसैको घर अगाडि जमिन जोतिरहेका थिए । तब मात्र उसको मस्तिष्कमा माटो र फलामको टुक्राको अर्थ पस्यो र सपनालाई विपनामा उपयोग गरी कर्मशील बन्यो । उसको हराएको भाग्य र गुमेको सम्पत्तिलाई कर्मशीलताले पुनः चम्काइदियो ।


Wednesday, May 14, 2014

"स्वर्णिमाले मन पराएको पेन्टिङ" - बिक्रम गिरी "अपरिचित" - कथा



"स्वर्णिमाले मन पराएको पेन्टिङ"


एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी "खै त मेरो लागी पेन्टिङ"!

उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई ठान्दछ!उ उदास भएर फर्कन्थी! म किन हो किन केवल एक मुर्ति सरह उसलाई हेर्नु बाहेक केहि गर्न सक्दिनथे,उ सधै म बाट रिसाएर जान्थी तर मैले उसको लागी एउटा यस्तो पेन्टिङ बनाउने निर्णय गरेको थिए जो अलग होस,र केवल स्वर्णिमालाई नै पहिला देखाउने प्रण गरेको थिए!म त्यो पेन्टिङमा हेरेक रितुको आर्कषण,हेरेक खुसीको मिषरण र हरेक रङ्ग मिसाउन चाहन्थे!

स्वर्णिमा आफ्नो प्राय जस्तो समय मेरो अरु पेन्टिङ हेरेर बिताउदथी!उसका साथिहरु आएर बोलाउदा नि उ पटक्क सुन्दिनथी,मान्दिन्थी!अन्तिममा मलाई नै केहि गरिदिनु पर्थयो र उ बल्ल जानलाई राजी हुन्थी तर उसका साथिहरु मलाई छडके ईशाराले जिस्काउदथे!मैले धत लाटिहरु भनेर भगाईदिन्थे र आफै मनमनै हर्षित हुन्थे,लज्जीत  हुन्थे!कता कता स्वर्णिमा भनेपछि मलाई काम गर्न रुचि जाग्दैन्थ्यो,मेरो मन कता कता टोलाउन पो थाल्दथ्यो,एक दिनको कुरा हो मेरो नाम सोध्दै कुन अपरिचित केटि मेरो घरमा आएको रहेछ तर त्यो दिन म नभएकाले,अर्को दिन स्वर्णिमाले नै केटिलाई मेरो घरसम्म पुराईदिएको थिई,उसको नाम "राधा" रहेछ!

उसले मेरो एउटा पेन्टिङ कहा देखेकाले मेरो नाम र ठेगाना सोधि म कहा आएकि रहेछ, बुझ्दै जादा उ पल्लो गाउकि रहिछ, सहरमा बसेर पढने रहेछ! म उसँग गफ गर्दा स्वर्णिमा अलिक पर उभिरहेकि थिई र उसको अनुहारमा त्यो रङ्ग थिएन त्यो चमक थिएन जुन अरुबेला हुन्थ्यो!उसमा एक किसिमको ईर्ष्या,डाहा पलाईरहेको देखिन्थ्यो,मैले स्वर्णिमालाई आखाँ चार गर्न सकिरहेको थिएन र राधा लाई जाउ पनि भन्न सक्दिनथे!म दोधारमा परे स्वर्णिमा त आफ्नै परी पहिले राधालाई नै प्राथमिकता दिए!राधाको अनुसार उसलाई एउटा यस्तो पेन्टिङ चाहिएको थियो जसमा उ आफुलाई हराएको देख्न पाओस र आन्न्दित होस! मलाई झन गाह्रो काम थपियो उता स्वर्णिमाको पेन्टिङ पुरा त के सुरु पनि भाको छैन र यता राधाको त्यसतो पेन्टिङको माग मैले हुन्छ भनिदिए र केहि समय लाग्छ भनिदिए, उसले म एक दुई महिना छुट्टिमा छु जहिले बनाए पनि हुन्छ भनि र धन्यवाद भनेर गई!राधा गएको केहि क्षणमा नै स्वर्णिमा पनि मुख फुलाएर गई, म उसलाई रोक्न सकिन, म जान्दिनथे यो उसको प्रेम हो कि के हो? हुन त म उसलाई चाहन्थे र चाहनु नै प्रेम हो! यथार्थ त यो थियो कि उ यो प्रेमबाट बन्चीत थिई मैले गर्दा र कारण म मौन थिए उसको प्रेम देखी!  

त्यो दिन देखी स्वर्णिमा म सँग भेटन पनि आएको थिईन बरु तिन चार दिन पछि राधा टुपलुक्क आईपुगी!मैले उसको हाल सोधे उसले ठिकै छ र यो कसैको जादु हुनुपर्छ भनी,मैले बुझिन भने,उसले नबुझेकै जाती भनी र पेन्टिङ बनाउने काम सुरु गर्नुभयो भनेर प्रश्न गरी!मैले अह गरेको छैन भने मन नै लागेको छैन भने,उसले कसैले मन त चोरेन भनेर भनी र मुसुक्क मुस्कान दिई,म पनी के थाहा हुनसक्छ भनेर हासिदिए!उसले अस्तिको साथी खै त भनेर सोधि,सायद उ स्वर्णिमाको कुरा गर्दैथी,मैले उ आको छैन भने उसले नाम सोधि,मैले स्वर्णिमा भनिदिए र राम्रो नाम छ भनीन उनले मैले पनी तिम्रो नाम पनी नराम्रो त छैन नी भने,सुन्दा नै आन्नद हुने "राधा"!  

उसले सायद मसँग नजीकिएको आभास गर्न थालेको थिई र उसले मेरो एउटा फोटो मागी, मलाई के गरु र के नगरु भयो, मैले फोटो दिए र उसले यो साथीको चिनो हुनेछ भनी र उ त्यहा बाट गई! सायद उ त्यहाबाट गएको स्वर्णिमाले देखेको रहेछ र मसँग आएर झर्केर बोली, अर्काको लागी फुर्सदै फुर्सद छ हामि त पराई हामिसँग  त बोल्न पनी समय हुदैन है भनी आएर मख्ख पारेर गई अब पेन्टिङ त उसकै बन्छ होला नि भनी! उ अचानक मलाई तानी र आफ्नो अगाँलोमा च्यापी, उ मलाई चुम्न थाली सायद स्वर्णिमाले गुम्साएर राखेको प्रेम आज सबथोक सुम्पिदै थिई, म अवाक भए, मैले केहि पनि गरिन! उ मलाई अगाँलोबाट फुकाली र त्यहा बाट हिडि रिसको झोकमा! म बुझ्न सकीन यो कस्तो रीस हो या फिर यो कस्तो प्रेम हो? हुन त यो प्रेम हुनुपर्छ यसमा म जलन देखीरहेको थिए, पिडा देखीरहेको थिए! स्वर्णिमाको पेन्टिङ लगभग आधा बनीसकेको थियो र लाग्थ्यो त्यो आधा पेन्टिङमानै सारा सृष्टि समावेश छ,ईन्द्रेणिको हर रङ्ग समावेश छ,आधा चित्रमानै आर्श्चय थियो!उता राधाको पेन्टिङ आज बाट सुरु गरेको मैले के उतारु पेन्टिङमा भनी दुबिधामा परेको थिए!मैले जे बनाए पनी एउटा सृजना त पक्कै हुन्छ भनी सुरु गर्दे गए राधाको लागी उसको रोजाईको पेन्टिङ! 

यता हप्तौ भयो राधा नआएको र म स्वर्णिमा मा फेरी नया जागर देखिरहेको थिए!मैले स्वर्णिमालाई नभनेपनी भित्रभित्रै म राधाको पेन्टिङ सकाउन आटेको थिए र उसले सोचे भन्दा र खोजे भन्दा बढि थियो त्यो पेन्टिङमा!हप्तामा हप्तौ भयो राधाको केहि अत्तो पत्तो थिएन!  यता स्वर्णिमाको मेरो लागी प्रेम असाध्यै थियो!उसको नयनलाई जस्ताको त्यस्तै उतार्ने मन थियो मलाई त्यो आफ्नो अधुरु पेन्टिङमा!म स्वर्णिमालाई यति चाहन्थे कि उसको पेन्टिङ नै मेरो जीवनको अन्तिम पेन्टिङ बनाउन चाहन्थे! यी हातले उसको नाम नै आखिरी पटक  लेख्न चाहन्थे र यस धडकनको आखिरी धडक पनी स्वर्णिमाको नाममा धडकाउन चाहन्थे!उसलाई म माया आफुभन्दा बढि गर्थे!मलाई दुनियाको पर्वाह थिएन केवल आशिक,मज्नु,प्रेमी भएको थिए स्वर्णिमाको प्रेममा!

साच्चै माया आस्था हो,दुई मुटुको बलिदान हो!जे होस मलाई यति थाहा थियो कि स्वर्णिमा केवल मेरो थिई मात्र मेरो!यता राधाको पेन्टिङ पनि अच्ममको बनेको थियो सायद उसले रोजे र खोजे भन्दा बढि थियो!तर उसको आगमन नभएको धेरै भईसकेको थियो,सायद उ सहर गईसकेको थिई होली आफ्नो पेन्टिङको साटो उहि मेरो एउटा फोटो लिएर,साच्ची राधा पनि नराम्रो थिईन उसको नम्र बोली र व्यबहार आकर्षित पार्दथ्यो  मलाई!अपसोच उ टाढा भईसकेकी थिई,सहरको विरान ठाउमा पसिसकेकि थिई!मैले राधाको पेन्टिङलाई नाम दिन सकिरहेको थिएन,र अन्तिममा त्यो पेन्टिङको नाम नै मैले "राधा" राखिदिए! राधाको यादमा एउटा राधा अपहार भयो म बाट!

यता स्वर्णिमाको मामाको छोरी आएकोले उ भेटन नआएको गुनासो सुनाई!मैले उसलाई अगाँलोमा राखिरहे र उसको अधरलाई चुमे! मैले स्वर्णिमालाई भने स्वर्णिमा तिमी सधै कराउने,रिसाउने कुराको समाधान गरिसके!मैले यति के भन्न पाएथे उसले बुझिहाली मैले उसको लागी बनाउन सुरु गरेको पेन्टिङ पुरा भयो भनेर!उ सारै हर्षित भई, लाग्थ्यो कुनै लडाई जितेर छाएको खुसी छाएको छ,उ रणभुमी जितेर आएकी छे!स्वर्णिमाको लागी बनाएको मेरो पेन्टिङ 'राधा' नामक पेन्टिङ पछिको अन्तिम पेन्टिङ थियो! 

मैले स्वर्णिमालाई त्यो पेन्टिङ देखाए र उसको खुसीको सिमा रहेन!मैले स्वर्णिमालाई नै उतारेको थीए त्यस पेन्टिङमा!एउटा यस्तो चित्र बनेको थियो जुन सायद मोनालिसाको मुस्कान भन्दा पनी फरक थियो र राम्रो थियो!स्वर्णिमालाई त्यो पेन्टिङ साह्रै राम्रो लाग्यो! उसले मलाई एकछिन अगाँलोमा बाधिरहि र चुमिरहि!एकछिन स्पर्शको बहार भयो,दुई मुटु एकाएक जुधे, यस खुसीको बखत स्वर्णिमाले एउटा दुख दिने खबर सुनाई उ त मामाको छोरीसँग मामाघर जाने रे!मेरो मुहार एकाएक मलिन भयो तर उसले बाचा गरी उ एक हप्ता पछि आउछु भनी,र मैले पनि उसलाई हुन्छ भनिदिए!उसले त्यो पेन्टिङ पनि आफुसँग लग्छु भनी तर मैले त्यस पेन्टिङको नाम नै राख्न पाएको थिएन !स्वर्णिमाले भनी मलाई राम्रो लाग्यो पेन्टिङ राख्देउ न त यस पेन्टिङको नाम "स्वर्णिमाले मन पराएको पेन्टिङ"! साच्चै यो नाम राम्रो थियो र उ अन्तिम पटक मलाई चुमी त्यहाबाट बिदा मागी!

भोली बिहानै  एकाएक गाडि पल्टेर मान्छे मरे भन्ने हल्ला फैलियो! मलाई मनमा कता कता चिसो पस्यो कतै स्वर्णिमालाई त!म हतार हतार गर्दे गाडि पल्टेको ठाउमा पुगे र यो आखाँ रसाए जे नदेख्नु थियो  त्यहि देख्यो यी आखाँले!स्वर्णिमाको लाश गाडिको छेउमा थियो र उसको हातमा त्यहि पेन्टिङ थियो,मृत्युले रुवाउदा पनि उसको ओठमा अजिब मुस्कान थियो! म उसको नजिक गए मेरो आशुँ स्वर्णिमाको गालामा खस्यो, म रोए, कराए साराले सम्बेदना प्रकट गरे र मसँग स्वर्णिमासँग जोडिएको एउटै चिझ बच्यो स्वर्णिमाले, आफै नाम राखिदिएको पेन्टिङ "स्वर्णिमाले मन पराएको पेन्टिङ"!!!I LOVE YOU FOREVER SWORNIMA.......
बिक्रम गिरी "अपरिचित"
 चन्द्रौटा कपिलबस्तु


 
 
 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.