पछिल्लो अपडेट

Tuesday, September 2, 2014

कसरी फल्छ डलर?

© निर्मल ज्ञवाली



“हेलो! हेलो!!”
“निर्मल दाइ बोल्नु भाको हो?”
“मैले साप्ताहिक पत्रिकामा तपाइँको अन्तर्वाता पढेको थिए । मलाई पनि तपाइले जस्तै घरमै बसेर डलर कमाउने आइडिया सिक्नु मन लागेर कल गरेको हो ! यहाँ मेरो घरमा बाले केहि काम गर्न सकिनस् भनेर गाली गर्या गर्यै छन् । म तपाइले जे-जे भने पनि गर्न तयार छु, तर मलाई घरमै बसी पैसा कमाउने तरिका सिकाइदिनु पर्यो दाई !
******
“हेलो! निर्मल दाई हो?”
“दाई, मलाई अलि-अलि कम्प्युटर चलाउन आउछ ! तर तपाइले गरेको जस्तो काम कसरि गर्ने? मलाई पनि सिक्नु मन् छ ! त्यो कहाँ सिक्न पाइन्छ होला? कुनै ईन्सटिच्युट छ?”
******
केहि समय अघिको कुरा हो साप्ताहिकको एक अंकमा “घरमै फल्छ डलर” नामको शिर्षकमा मेरो अन्तर्वाता छापिएको थियो, त्यस पछि दिनहु जसो मैले यस्तै यस्तै कलहरु पाउने गरेको छु । जसमा धेरैको जिज्ञासा हुने गरेको छ की घरमै बसी-बसी पैसा कसरी कमाउने?
साप्ताहिकको त्यो अंकमा नरेन्द्रजीले म सँग भएको कुराकानीको आधारमा लेख्नु भएको थियो की घरमै बसी-बसी डलर कमाउन सकिन्छ भनेर । तर कुरा के भयो भन्दा यति कमाउन सकिन्छ, उति कमाउन सकिन्छका कुरा त भए तर साच्ची कमाउने कसरि? के त्यति सजिलै कमिन्छ त डलर? धेरैले मलाई फोन गरेर सोध्नु पनि भएको थियो, के यो साँचो समाचार  हो? तपाइँले घरमै बसी-बसी एउटा साइट बनाएर दुइ लाख सम्म पाउनु भो रे?
हो यो पक्कै साँचो हो, तर तपाइँले सुने जस्तो त्यति सजिलो नहुन पनि सक्छ ।
बिशेष गरेर युवाहरु माझमा प्रख्यात पत्रिका साप्ताहिक भएर पनि होला, त्यो लेख छापीइसकेपछी साप्ताहिकका पाठकहरुबाट मैले धेरै जिज्ञासाहरु पाए । धेरै जसो युवाहरुलाई यो कुरा अत्यन्त रोचक लागेछ, घरमै बसेर डलर कमाउन सकिने । सायद हाम्रो देशमा बेरोजगार युवाहरुको संख्या धेरै भएकोले पनि होला यस कुरामा बढी चासो देखाउनु भएको । कति साथीहरुले त यसको बारेमा पहिले देखि नै सुनिरहनु भएको पनि होला, र कतिलाई यसबारे जान्ने मन पनि होला । तपाइँहरु जस्ता धेरै जनाको कौतुहलताको बिषय बनेको फ्रील्यान्सिन्गको बारेमा स्पस्ट नपारी बस्नु मलाई उचित लागेन । आज त्यहिँ फ्रील्यान्सिंगको बारेमा जानेका कुराहरु तपाइहरु सामु प्रस्तुत गर्ने कोशिष गर्दै छु ।
फ्रील्यांसिंग यस्तो काम हो जसमा तपाइँ एक्लै मैदानमा लड्नको लागि तयार हुनु पर्ने हुन्छ । अझ भन्नु पर्दा वेब फ्रील्यांसर मैदानमा एक्लै लड्न हिडेको यस्तो योद्दा हो, जो पूर्ण रुपमा हात हतियार सहित युद्द लड्न हिडेको हुन्छ । यदि तपाइँ कुनै कम्पनि मार्फत काम गर्दै हुनुहुन्छ भने त्यहा सेनाको पूरा जत्था नै हुन्छ, जहाँ समुहमा युद्द लडिन्छ । तर जब तपाइँ कुनै कम्पनि वा संस्था सँग आबद्द नभई आत्मनिर्भर भएर काम गर्नुहुन्छ भने त्यति बेला अगाडि आएका सबै समस्याहरुलाई तपाइले एक्लै समाधान गर्नु पर्ने हुन्छ ।
फ्रील्यान्सिंग धेरै बिधाहरुमा गर्ने गरिन्छ, तर म अहिले वेब फ्रील्यान्सिंगको बारेमा कुरा गर्दै छु । जुनसुकै फ्रील्यान्सिंग भए पनि त्यस बिधाको पूर्णरुपमा जानकारी हुनु अत्यन्त आबश्यक हुन्छ, किनकी तपाईले चाहेको बेलामा तपाइँलाई मैदानमा सहयोग गर्न आउने अर्को योद्दा नाभेटिन पनि सक्छ । तर तपाईले पहिले देखिनै सहयोगी योद्दाहरु तयार पारेर राख्नु भएको छ भने त त्यो अत्यन्तै राम्रो ।
यदि तपाइँ साच्ची नै वेब फ्रील्यान्सिंगमा लाग्ने सोच्नु भएको छ भने तपाइले यस सँग सम्बन्धित धेरै भन्दा धेरै कुराको ज्ञान लिनु आबश्यक छ । एउटा वेबसाइट बनाउनको लागि शुरु देखि आबश्यक डिजाइनिग टुलहरुमा Adobe Photoshop, Micromedia Freehand, Adobe Illustrator, HTML, CSS, Adobe Flash, Browser Scripting  आदि,  त्यस्तै  वेब प्रोग्रामिंगको लागि PHP, MySQL, ASP.NET, JSP  जस्ता केहि कोर्षको ज्ञान हुनु आबश्यक छ र अन्य Domain, DNS, FTP, Web Server, Webmail, SEO, SMP जस्ता कुराहरुले तपाइँको पेशालाई अझ मद्दत पुर्याउछन । तपाइँलाई लाग्न सक्छ यति धेरै कुरा शुरुमै किन आबश्यक? बिस्तारै सिक्दै गए पनि त हुन्छ होला नि ।
यसैलाई एक पटक फ्रील्यान्सिंगको बास्ताविक धरातलमा बसेर हेरौ, मानौ तपाइँ कुनै “क” नाम गरेको कम्पनिको काम गर्नको लागि जानु भो वा कतै बाट उस्को काम पाउनु भो । सर्वप्रथम त तपाईलाई उसले आफ्नो डोमेन नाम के दर्ता गरौ भनेर उल्टै प्रश्न गर्दछ र भन्छ यसलाई कहा होस्ट गर्दा उपयुक्त हुन्छ होला ? यदि तपाईलाई Domain, DNS, Web Server को राम्रो ज्ञान छैन भने तपाइँ के जवाफ दिनुहुन्छ? र बिस्तारै उस्ले मेरो लोगो, लेटर प्याड, बिजनेश कार्ड पनि बनाउनु छ, कस्तो राख्ने होला भन्द्छ । हुन सक्छ यी सबै कुरा हरु तपाइँ एक्लै बाट सम्बभ नहोला । तपाइँलाई आउछ की आउदैन त्यो ग्राहकको सरोकारको बिषय होइन, उ आफ्नो कम्प्युटर सम्बन्धि सबै काम एउटै व्यक्ति बाट गराउन चाहन्छ । तपाइँले सबै काम गर्न नसके पनि केहि हद सम्म तपाईलाई यसको जानकारी हुनु अत्यन्त आबश्यक छ । सबै काम एक्लै गर्नु पर्छ भन्ने पनि होइन, तपाइँ मिलेर टिममा पनि गर्न सक्नुहुन्छ । तर ग्राहकको नजरमा विश्वासिलो पात्र बन्नका लागि तपाइँसँग यी बिषय को केहि हद सम्म ज्ञान हुनु महत्वपुर्ण हुन्छ ।
सुचना प्रविधिमा फ्रील्यान्सिंग काम पाउनको लागि अर्को महत्वपूर्ण कुरा भनेको तपाइँले ग्राहकको बिश्वास जित्नु पर्ने हुन्छ । धेरै जसो ग्राहकहरुको नजरमा कम्प्युटर सम्बन्धि कामहरु यति जटिल मानिन्छ की कहिले काहिँ तपाइँले गरिरहनु भएको काम हेरेर तपाइले के गर्नु भयो र के गरीरहनु भएको छ उनीहरु केहि पनि बुझ्न सक्दैनन । यो मैले धेरै जसो ग्राहकहरुमा भेटेको छु । मात्र उनीहरु आउटपुट सँग सरोकार राख्छन । त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिले उनीहरुलाई ठग्ने सम्बाभना बढी नै हुन्छ, र त्यस कुरामा भने उनीहरु सधै सचेत रहन्छन । उनीहरुलाई कम्प्युटर सम्बन्धि ज्ञान छैन भन्दैमा बिजनेशको पनि आइडिया छैन भनेर भन्नु मिल्दैन । त्यसैले उनीहरु राम्रो सँग चिनेको र बुझेको मान्छेलाई मात्र काम गराउन चाहान्छन् । मानौ की तपाइले एउटा ट्रावल एजेन्सीको टूर बुकिंग सिस्टम बनाउनु भयो, त्यो ग्राहक कसरि बिश्वस्त हुन सक्छ की तपाइले बनाएको सिस्टममा कुनै लुकी-चोरी काम गरिएको छैन । लुकी-चोरी भन्नाले उस्कोमा आउने सबै बुकिंगहरु सहि तरिकाले तपाइँले उसैलाई नै पठाउनु भएको छ की छैन? कतै तपाइँले ति बुकिंग भएका टूरहरु अर्को प्रतिस्प्रधी ट्रावल एजेन्सीलाई पो बेचिरहनु भएको छ की?
त्यसैले फ्रील्यान्सिंग गर्ने व्यक्तिले आफ्नो विश्वसनीयतालाई बढाउनु अत्यन्तै आबश्यक देखिन्छ । अब कुरा आउछ उनीहरु कसलाई भरपर्दो मान्छन त? यदि तपाइँ यहि विधामा नै धेरै बर्ष देखि काम गरिरहनु भएको छ र कम्प्युटर सम्बन्धि नै अध्यन गर्नु भएको छ भने केहि हद सम्म तपाईलाई काम गर्नको लागि सहज हुन सक्दछ । तपाइँको अनुभव र अध्यन किन महत्वपुर्ण हुन्छ  भने आजकल छिट्टो पैसा कमाउने होडमा धेरै व्यक्तिहरु यसमा बिना अध्यन र बिना मेहनत लागि परेका छन् । सुचना प्रविधि यस्तो विधा हो, जसमा ठुला-ठुला गफ दिदैमा केहि हुने वाला छैन, यो पूर्णतया परिणाममा केन्द्रित हुन्छ । यदि तपाइले त्यो काम गर्न सक्नु भयो भने तपाइँ बोलिरहनु आबश्यक नै पर्दैन्, अरुले आफै बुझ्छन । यी बिश्वास र सीपका कुराहरु बिस्तारै र लामो समयको मेहनत पश्चात मात्र प्राप्त हुने उपलब्धिहरु हुन्, जसको लागि मेहनत र लगावको मात्र आवश्यक हुन्छ ।
यदि तपाइ साच्ची नै वेब फ्रील्यान्सिन्गमा लाग्न चाहानुहुन्छ भने सर्वप्रथम माथि उल्लेखित केहि टुलहरुको जानकारी लिनु आबश्यक हुन्छ । असम्भव भन्ने कुरा केहि पनि छैन, तपाइले निरन्तर मेहनत गर्दै जानु भयो भने एक दिन अबश्य पनि यस बिधामा सफल बन्न सक्नु हुने छ । तपाइले यी सबै कुराहरु जान्दैमा पनि काम पाउनुहुन्छ भन्ने छैन, तपाइँले जान्नु हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिलाई थाहा हुनु आबश्यक हुन्छ । त्यसको लागि तपाइले आफ्नो सम्बन्धलाई बढाउनु पर्ने हुन्छ र  आफ्नो सिपको मार्केटिंग गर्नु पर्ने हुन्छ । आउने लेखहरुमा म कसरि आफ्नो सेवाको मार्केटिंग गर्ने र त्यसबाट घरमै बसी बसी कसरि फ्रील्यान्सिंगहरु प्रोजेक्ट पाउने भन्ने बिषयमा केहि आफुले जानेका कुराहरु साटासाट गर्ने नै छु । यदी तपाईलाई लागेका केहि कुराहरु सोध्न चाहानुहुन्छ भने कमेन्ट बक्स तपाइहरुको लागि सदा खुल्ला नै छ र त्यहाँ तपाइँका केहि सुझाब सल्लाह छन् भने पनि अबश्य लेख्नु होला  ।

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.