© निर्मल ज्ञवाली
बढ्दै गरेका फेसबुक, ट्विटर, लिंक्ड इनहरु जस्ता सामाजिक संजालहरुले परम्परागत व्यापारिक ढाँचामा क्रान्तिकारी परिवर्तन ल्याईसकेका छन् । स-साना घरेलु संघ-संस्थाहरु देखि लिएर बिश्वका ठुला-ठुला बहुरास्ट्रीय कम्पनिहरुले समेत यी संजालहरुमा आफ्नो उपस्थिति जनाई सकेका छन् । अझ भन्नु पर्दा, यी संस्थाहरुले आफ्नो व्यापार प्रबर्दन गर्ने दरिलो माध्यम बनेको छ, सामाजिक संजाल । भनिन्छ, मार्केटिंग त्यो ठाउमा गरिन्छ, जहाँ धेरै भन्दै धेरै मानिसहरुको जमात हुन्छ । केहि प्रख्यात सामाजिक संजालहरु मध्ये अग्र स्थानमा रहेको फेसबुक कै उदाहरण लिउ, जुन पचहत्तर करोड भन्दा बढी व्यक्तिहरुको सार्बजनिक थलो बनिसकेको छ, जसमा नया जेनेरसनका युवाहरुको बाहुल्यता रहेको छ । अहिले ठुला-ठुला संघ-संस्था, कम्पनिहरुले यसको फाइदा उठाउदै आफ्नो ब्यापार प्रबर्दन गर्ने र दक्ष व्यक्तिको खोजी गर्ने थलो बनाउन थालेका छन् । हामीले देख्न सक्दछौ की, कति कम्पनीहरुले फेसबुक, ट्विटर मार्फत नै भ्याकेन्सी खोल्ने र आवस्यक जनशक्तिको छनौट गर्ने गरेका छन् ।
यसलाई अर्को पाटोबाट हेर्दा आफु सँग सिप भएरपनि सहि स्थान र पोजिसन पाउन नसकेकाहरुकालागि पनि आफ्नो दक्षता प्रदशन गर्ने सबैभन्दा राम्रो थलो बनेको छ, सामाजिक संजाल । यी सामाजिक संजालहरुमध्ये पनि लिंक्ड इन व्यवसायिक व्यक्ति र संस्थाहरु बिच सम्बन्ध राख्ने सबै भन्दै प्रख्यात वेब साइटको रुपमा रहेको छ । तिन करोड पचास लाख को हाराहारीमा प्रयोगकर्ता रहेको यो साइट मुख्य गरेर व्यवसायिक व्यक्तिहरुका लागि जागिर खोज्न र कम्पनिहरुका लागि दक्ष स्टाफ छनौट गर्नका लागि प्रयोग भएको पाइन्छ । अझ कति कम्पनिहरुले त यसलाई आफ्नो प्रोडक्ट, सेवा प्रबर्दन गर्ने र बेच्ने थलो पनि बनाएका छन् ।
यी सामाजिक संजालहरुमा आफ्नो प्रोफाइल बनाउदैमा जागिर पाइन्छ नै भन्ने पनि छैन, तपाइँ आफुलाई कसरि व्यवसायिक व्यक्तिको रुपमा प्रस्तुत गर्नु हुन्छ, त्यसमा भर पर्ने गर्दछ । तपाइँले केहि कुरा जान्नु भएको छ, तर त्यो कुरा तपाइले उल्लेख गर्न बिर्सिनु भयो भने तपाइको सिपको कुनै अर्थ रहदैन । त्यसैले आफ्नो प्रोफाइल बनाउदा आफ्नो सहि नाम, बास्तविक फोटो, केहि आफुले जानेका सिपहरु, आफ्नो शैक्षिक योग्यता, पोर्टफोलियो र बायो डाटालाई तपाइँले सुन्दर र श्रीजनात्मक तरिकाले प्रस्तुत गर्नु पर्ने हुन्छ । र तपाइँले स्ट्याटस अपडेट गर्ने बेलामा पनि बिचार पुर्याउनु पर्ने हुन्छ, सकेसम्म व्यवसायिक कुराहरुलाई उल्लेख गर्नुहोस जस्ले तपाइँको दक्षतालाई प्रस्तुत गर्न सकोस । अब कुरा आउछ के तपाइँले आफ्नो प्रोफाइल राम्रोसँग बनाउदैमा र स्ट्याटस अपडेट गर्दैमा मात्र तपाइँलाई जागिरका अफरहरु आउन थाल्छन त? यतिले मात्र अबश्य पुग्दैन, तपाइले तपाइँको सिप र इक्षा मिल्दो खालका कम्पनि र व्यक्तिहरुसंग नाता गास्नु पर्ने हुन्छ । मानौकी तपाइँले माइक्रोसफ्ट कम्पनिमा जागिर खाने सोच बनाउनु भएको छ भने, तपाइले त्यस कम्पनिको प्रोफाइल वा पेजलाई फलो गर्नुपर्ने हुन्छ, कुनै न कुनै रुपमा तपाइले उनीहरु सँग सम्बन्ध बनाउनु पर्ने हुन्छ जस्ले गर्दा उनीहरुले तपाइँसँग भएको सिपको खोजीमा बेलामा तपाइँसँग संचार गर्न सजिलो होस् ।
इन्टरनेटमा यी साइटहरु बाहेक पनि हामी धेरै साइटहरु भेट्न सक्छौ जस्ले जागिरलाई नै प्रमुख प्रार्थमिकता दिएर अगाडि बढेका छन् । ति मध्ये पनि केहि बिश्वमा चलन चल्तीमा रहेका साइटहरुमा जब्स्टर (www.jobster.com), माइवर्कस्टर (www.myworkster.com), भिजुवलसिभि (www.visualcv.com), जबफक्स (www.jobfox.com), एकाडेमी (www.ecademy.com), क्रेगलिस्ट (www.craigslists.oorg) हरु अग्र पंक्तिमा छन् र नेपालमा मेरोजब (www.merojob.com), जब्सनेपाल (www.jobsnepal.com), बिएमजब्स (www.bmmjobs.com), जबशिकारी (www.jobshikari.com), जागिरे (www.jagire.com) हरु प्रख्यात छन् । यी साइटहरुमा गएर सिधै तपाइँले आफुसँग भएको सिपको आधारमा पनि जागिर खोज्न सक्नुहुन्छ भने कति साइटहरुमा त तपाइँले एक पटक खाता खोलेर आफ्नो सिपको बारेमा उल्लेख गर्नु भयो भने त्यो सिपको आधारमा कुनै नयाँ जागिर उपलब्ध भएमा यिनीहरुले तपाईलाई त्यसको सुचना दिने गर्छन । जसबाट तपाइँलाई जागीर खोज्नका लागि कम्पनीहरुको ढोका ढकढकयाउदै हिड्नु पर्ने बाध्यताबाट मुक्ति दिन्छ । आशा छ यी साइटहरुको सहयोगले तपाइँले घरमै बसी-बसी खोज्नु भएको कम्पनि र पोस्टमा जागीर पाउनु हुनेछ ।
Post a Comment