पछिल्लो अपडेट

Monday, June 16, 2014

उनले आत्महत्या गरिन्, हामी फेल भयौँ - सागर प्रसाईँ


     मैले जुन विद्यालयबाट एसएलसी पास गरेँ, त्यहाँकी एक विद्यार्थीले यस पालि एसएलसी फेल भएँ भनेर आत्महत्या गरिन् रे। म त्यो घटनाले स्तब्ध भएँ।
किन हाम्रो देशमा एसएलसी परीक्षालाई हाउगुजी बनाइँदैछ? किन एसएलसीको यत्रो हुइया चलाइँदैछ- म त छक्क पर्छु। नौ कक्षामा फेल हुँदा- कसैले पनि आत्महत्या गरेको हामीले सुनेको छैनौँ। एघार, बाह्र, ब्याचलर्स, मास्टर्समा बर्सेनि कति फेल हुन्छन् तर तिनीहरूले आत्महत्या गर्दैनन्। त्यसो भए किन एसएलसी पनि १० कक्षाको वार्षिक परीक्षाजस्तो साधारण परीक्षा हो, यो पछाडि पनि यस्ता धेरै र यो भन्दा महत्वपूर्ण परीक्षाहरू हामीले दिनुपर्छ भनेर हामीले हाम्रा विद्यार्थीलाई किन बुझाउन सकेका छैनौँ?
खासमा १ देखि १२ कक्षा सम्मलाई स्कुलिङको रूपमा लिने अन्तर्राष्ट्रिय मान्यता छ भने १० कक्षामा सारा देशलाई नै हल्लाउने गरी किन एसएलसी गर्नुपर्यो? अरू कक्षाजस्तै कक्षा १० को वार्षिक परीक्षा आफ्नै स्कुलले लिए भैहाल्यो नि। १२ कक्षामा बरु देशभरि एकरूपता ल्याउन, एउटा राष्ट्रिय परीक्षा गरे हुँदैन?
सरकारले कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई केही गरी पनि फेल गर्न नपाउने नियम बनाएको छ। साना विद्यार्थीको मनोविज्ञानमा असर पर्छ भनेर यसो गरिनु ठिकै हो। तर योसँगै कोही विद्यार्थीहरू फेल हुनै नपरोस् भनेर उनीहरूको शैक्षिक स्तर सुधार्न पनि त कार्यक्रमहरू आउनु पर्ने हो। नत्र त अहिलेको हिसाबमा कोही पनि सानो कक्षामा फेल नहुने भएपछि, एकदमै कमजोर शैक्षिक स्तर बोकेका विद्यार्थी पनि बिना रोकटोक माथिल्लो कक्षामा आइपुग्छन् तर उनीहरूको कमजोर पढाइको स्तरका कारण माथिल्लो कक्षाको पढाइ त उनीहरूले बुझ्न सक्दैनन् अनि जीवनमा पहिलोपल्ट फेल हुन्छन्। कक्षा ८, ९ मा यसरी एक-दुई विषय फेल हुँदा विद्यालयले अर्को कक्षामा मेहनत गर्ने वाचा गराएर विद्यार्थीहरूलाई माथिल्लो कक्षामा जान दिन्छन्। तर एसएलसीमा त्यस्तो हुँदैन र त्यो विद्यार्थी फेल हुन्छ। फेरि रेडियो, टिभी, पत्रपत्रिका, गाउँघर सबैतिर एसएलसीकै मात्र चर्चा हुने गर्छ। फलानोले यस्तो गर्यो रे, यति पर्सेन्ट ल्यायो रे भनेर चर्चा चलिरहँदा, त्यो फेल हुने विद्यार्थीले मेरो त अब जीवन सकियो भनेर सोच्नु स्वाभाविक नै हो।
थ्री इडियट्स फिल्ममा एकजना विद्यार्थीले परीक्षामा पास हुन नसक्दा आत्महत्या गर्छन्। अनि त्यो चलचित्रका नायक आमिर खानले आफ्ना प्रिन्सिपललाई चुनौती दिन्छन्- 'यो उनले आत्महत्या गरेका हैनन्, तपाईँहरूले दिएको दिमागी प्रेसरले उनको हत्या भएको हो। तर नआत्तिनू, तपाईँहरूलाई कसैलाई पक्रन सक्दैनन्, किनभने पोस्टमार्टममा दिमागलाई कति प्रेसर थियो भन्ने थाहा हुँदैन।
'प्रत्येक बर्ष एसएलसी परीक्षाको नतिजा प्रकाशित भएपछि हाम्रा साना भाइबहिनीहरुले आत्महत्या गर्दा मलाई त्यो फिल्म याद आउँछ। मेरो स्कुलमा पढ्ने ती बहिनीले पनि आत्महत्या गरेकी हैनन्- उनको त हामीले, हाम्रो समाजले, शिक्षा मन्त्रालयमा बसेका बिद्वानहरुले, पत्रपत्रिकाले, स्कूल- सबैले मिलेर दिएको दबाबले हत्या गरेको हो। हामीलाई लाग्ला उनी फेल भइन् र त उनले आत्महत्या गरिन्- तर म त भन्छु, उनले आत्महत्या गरिन्- र हामी सबै फेल भयौं।
शिक्षाको स्तर उकास्छौं भने काम गर्दै गरेका सरकारी र गैरसरकारी निकायहरू फेल भए। पढे-लेखेर बुद्धिजीवी कहलिएका शिक्षाविद्हरू फेल भए। यो सबै बुझेर पनि केही गर्न नसक्ने, म पनि फेल भएँ।
मैले जति लामो लेखे पनि मूल कुरा यही हो- जबसम्म हाम्रा स्कूलले, हाम्रो समाजले, हाम्रा पत्रपत्रिकाले, हाम्रा अभिभावकले अनि सबै भन्दा महत्वपूर्ण, हाम्रो सरकारले हाम्रा भाइबहिनीहरुलाई एसएलसी फेल हुँदा जिन्दगी सकिँदैन, एसएलसीपछि पनि कति धेरै परिक्षामा हामी फेल हुनेछौँ भनेर बुझाउन सक्दैन- यो क्रम जारी रहन्छ। अर्को वर्ष पनि फेरि कोही विद्यार्थीले फेल भएँ भनेर आत्महत्या गर्नेछन्। त्यस कारण हामी नचाहिँदो दबाब दिएर अरू धेरै विद्यार्थीको हत्या नगरुँ- पाप लाग्छ।

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.