छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।
केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो
“उजाले आप्नी यादों के हमारे साथ रहने दो
न जाने किस गाली में जिन्दगीकी साम हो जाय”
केहीबेर अगाडिसम्म गुनगुन गरिराखेको हल्ला शान्त भयो । बसिर बद्र मन्चबाट बिदा भएपछि कार्यक्रम संचालन गरिराखेको बुढो सयरले भन्यो, “आजसम्म यो धर्तीमा यत्तिको शेर लेखिएको छैन त्यसकारण यो मुसायारा यहीँ अन्त्य गरिन्छ ।” जबकी दर्जनौं बरिष्ट सायरहरू आफ्नो पालोको प्रतिक्षामा थिए तर त्यहाँ कसैले पनि बिरोध गर्न सकेनन्, किन कि कार्यक्रम संचालन गर्ने नै सबैभन्दा सिनियर सायर थियो । मैले यहाँ आफैले देखेजसरी यो कुरा बताए पनि वास्तबमा यो प्रसङ्ग मैले एउटा किताबमा पढेको थिए । यहाँ गजलको बारेमा केही बोल्न खोजिरहदा मैले यो प्रसंगबाट नै सुरु गर्नु को मुख्य कारण गजलको शेरको शक्ति देखाउन खोजेको हुँ । यत्तिका शक्ति बोकेको गजल विधालाई हाम्रोमा अँझै पनि हेय कै दृस्टीकोणले हेर्ने बर्गहरूको लागि यो प्रसङ्ग सबक पनि हुन सक्छ । यो प्रसङ्ग पढेपछि मैले आफूले भोगेको केही महिना अगाडिको एउटा घटना सम्झिएँ ।
देशकै चर्चित मानिने एकजना कविले अक्षरयात्रामा गजलको बारेमा अभिव्याक्ति दिने क्रममा भन्नुभएको थियो “गजल नेपाली साहित्यको केवल एउटा आयातित, विकृत र उर्दु/हीन्दीको लोकगित जस्तो विधा हो । नेपालमा गजल लेख्नेहरूले लोक गीत लेख्दा बरु आफूलाई साहित्यमा सुरक्षित गर्न सक्छन् ।” उहाँको यो वक्तब्य आउनुभन्दा केही महिना अगाडि एकजना बिद्वान अग्रजले गजल केबल रत्यौलीभन्दा बढी केही लाग्दैन भनेर हामी केही गजलसन्ध्याका सदस्यहरूसँग बहश नै गर्नुभएको थियो यधपी आजका दिनमा उहाँ चाहिं गजल प्रति सकारात्मक हुनुहुन्छ । तर उहाँ कवि महोदय आजका दिनमा पनि गजललाई बनमारा झारसँग तुलना गर्दै सकेसम्म गाली गर्दै हिड्नुहुन्छ । यस्ता अग्रज साहित्यकारको बीचबाट पनि नेपाली गजल हुर्कदै बढ्दै यहासम्म आएको छ । यसलाई पनि ठुलो उपलब्धि मान्नुपर्छ । मोतीले सारेको तर मरिसकेको गजलको बिउलाई फेरि खोस्रेर जगाउनु भएका नेपाली गजलका असल सारथी ज्ञानु वाकर पौडेलले गर्नुपरेको संघर्ष सम्झदा पनि मन भारी भएर आउछ । आजका दिनमा यतिका व्यक्तिले गजल लेख्नुहुन्छ यतिका माओल छ र त गजलप्रति अन्य विधामा कलम चलाएका साहित्यकारको धारणा यस्तो छ भने सुरुवाती दिनमा गजल प्रति कलम चलाउनेहरूले कतिसम्म खपे होलान हामी अहिलेको पुस्ताले कल्पना पनि गर्न सक्दैनौं ।
काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ । विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास र कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन । मसँग एक पटक त्यही झुन्डका एकजना इमान्दार पात्रले भनेका थिए “गजल त चुटकिला जस्तो लाग्छ यार” फिस्स हाँस्दै उनले थपे “अलिक साहित्यिक पाराको के” । यो त एउटा प्रतिनीधि झुण्ड मात्र हो यस्ता थुप्रै झुण्डहरू छन् जो रात दिन गजलको धुप हालेर बस्ने गर्छ । यो झुण्डलाई देखेपछि मैले राहत इन्दोरीले २००७ मा वेस्टनको एउटा मुसायरामा भनेको कुरा सम्झन्छु इन्दोरिले भनेका थिए “मैले मेरो जीवनमा ५ वोटा मात्र सच्चा गजलका शेरहरू लेख्न सकें भने म आफूलाई संसारकै भाग्यमानी साहित्यकार सम्झन्छु ।” यहाँ जीवन भर ५० बढी उपन्यास लेखि सक्दा र ५०० बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन । इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स” भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ । यत्तिका महत्व बोकेको गजललाई हाम्रोमा गरिने व्यवाहार देख्दा सार्है नरमाइलो लागेर आउछ ।
आफू खस्किन्छु कि भन्ने डर नमानिकन गफ नलगाएर भन्ने हो भने आजको नेपाली गजल एउटा साहित्य सिक्दै गरेको व्यक्तिलाई मूलधारको साहित्यमा पुर्याउने पूल को रुपमा देखिएको छ । गजल आफै चाँहि मुलधारको साहित्य हुन सकेको छैन । सुरुवाती दिनहरूमा गजलमा लागेका धेरै उत्कृष्ट लेखकहरूले समय क्रमसँगै गजललाई छाडेर कविता उपन्यासतिर लागेको देखिन्छ यसको मुक्य कारण गजल र गजलकारलाई नेपालमा सम्मानजनक रुपमा ग्रहण गर्न नसक्नु नै हो । हुन त गजललाई सम्मानजनक बनाउन तिनै छाडेर जानेहरूले पनि एक खाल को पहल गर्नु पर्ने हो तर आजकाल मान्छे बाटो खनेर हिड्नुभन्दा खानिसकेको बाटो हिड्न मन पराउछ । यदि नेपालमा पनि भारतका गजलकार निदा फाजली,दुश्यंत कुमार,जाबेद अख्तर र बसिर बद्रहरूलाई जत्तिकै गजलमा लागेको ब्याक्तिलाई सम्मान हुने गर्थाे भने सायद नेपाली गजलले अमर न्यौपाने र बुद्दी सगर जस्ता लेखकहरूलाई गुमाउदैनथ्यो र गुमाउदैनथ्यो भुपिन जस्ता कविहरूलाई पनि । मलाई आज पनि कसैले राम्रो शेर सुनायो भने यही कारण डर लाग्ने गर्छ । यस्तो तितो यथार्थका बिचमा पनि हाम्रोमा गजलको बारेमा अनाबस्यक हल्ला चाँहि अलि बढी नै हुने गर्छ । गजलकारहरू आफ्नो भाउ आफै सस्तो बनाई राखेका हुन्छन । मैले यो लेखको शिर्षक राख्नु अगाडि रत्नपार्कमा कपडा बेच्न कराइरहने पसलेलाई पनि एकपटक सम्झेको थिए। अझ त्योभन्दा बढी अहिले सम्झिरखेको छु डाक्टर नीरजको एउटा शेर
“गजलको गला त उहिल्यै देखि थिचिएको छ यहाँ
गजलकार भने ठुलो स्वरले चिच्याए जस्तो गर्छ”
संख्यामा भारी बृद्वी भइरहेको अवस्थामा गुणात्मकतामा ह्रास आउनु स्वभाविक नै हो तर गुणात्मकता नै छैन भन्नु चाँहि मुर्खता हो भन्ने मलाई लाग्छ । अहिले नेपालमा गजल बनमारा झार जसरी आइरहेको आरोप स्वीकार्न म पनि तयार छु तर आँखामा लेन्स लगाएर हेर्याे भने बन्मारा झारको बीचबाट पलाउदै गरेका थुप्रै सति सालका पोथ्राहरू पनि देखिन्छन् । सधै बनमारा भनेर गाली मात्र गरिरहने गाली शिरोमणि ज्युहरूले आँखामा लेन्स लगाएर सति सालका पोथ्राहरू पनि देखि दिए हुन्थ्यो भन्ने मेरो आशा मात्र हो । गजल बनमारा जसरी आउनुका थुप्रै कराणहरू छन मलाई लागेका केही कराणहरू यहाँ राख्छु ।
आजकाल फेसबुकमा स्ट्याटस राख्ने उधेश्यले धेरै जना गजलकार हुनुभएको छ, उहाँहरुको व्यक्तिगत स्वतन्त्रतामाथिको यो मेरो हस्तक्षेप होइन तर पनि गजलको गुणातमकतामा ह्रास आउनुको एउटा प्रमुख कारण यो पनि हो । धेरै जना देखासिकीमै पैडिन जान्ने भ्रमले नदीमा हाम फाले जसरी गजलमा लग्नुभाएको छ जुन पछि गएर आफैलाई घातक हुने निश्चित छ । हाम्रा मिडियाहरूले गजलको न्यूनतम मापदण्ड नपुगेका रचनाहरूलाई पनि गजल भनेर प्रचार गरेका कारण पनि घुमाएर एउटा दुइटा शब्द जोडे गजल हुने रहेछ भन्ने भ्रम धेरैमा छ । र मुख्य कारण यो साहित्यको लघु, कलात्मक र सुन्दर विधा हो जो कोही को पनि आकर्षण एकदमै छिटो बढ्ने गर्छ । सैदान्तिक बहसले पनि गजललाई बिगारेको हो कि भन्ने शंका यदा कदा सुन्नमा आउछ तर मेरो बिचारमा चिज राम्रो आयो र बैचारिक हिसाबले जम्दै गयो भने त्यसलाई सैदान्तिक बहशले असर सायदै नपार्ला । आजभन्दा ८/९ सय वर्ष अगाडि गजल भित्रिएको भारतमा त आजको दिनमा पनि सैदान्तिक बहस जेनको तेन छ भने हामीमा त्यो हुनु मलाई चाहि स्वभाविक नै लाग्छ ।
गर्नेले जति गाली गरे पनि नमान्नेले नमाने पनि आजका दिनमा नेपाली गजल काव्यिक चेतनाले भरिदै जान थालेको छ । धेरै संघ संस्थाहरू नेपाली गजलको उन्नयन र श्रीबृदीका लागि अहोरात्र लागि परिराखेका छन् ।चाहे रजधानीबाट मधुबन र अनाममण्डली होस् चाहे मुफसलबाट गजल सन्ध्या पोखरा,गजल मंच चितवन,पूर्णीमा साहित्य परिवार कोहलपुर,सुप गजल मञ्च लगायात यहाँ मैले नाम उल्लेख गर्न नसकेका दर्जनौ सस्था किन नहुन, यिनीहरू नेपाली साहित्यमा हस्तक्षपकारी गजलकार जन्माउनमा लागि परेका छन् ।अझ मेरो आफ्नै धारणा भन्ने हो भने त जन्मि पनि सकेका छन्, मात्र प्रचारको र सम्मानको खाँचो छ ।
कहिलेकाँही साथीहरूका शेरहरू सुन्दा पढ्दा यस्तो लाग्छ हामी पनि लेखनको हिसाबले लगभग भारतकै नजिक पुगीसकेका छौं, केवल हाम्रोमा गजलप्रति मुलधारका साहित्यकारको हेर्ने नजरमा मात्र सुधारको खाँचो छ । वास्तबमा गजलका उत्कृष्ट शेरहरूले यस्तो प्रभाव छाड्छन् जुन कमै मात्र कविता र आख्यानले छाड्ने गर्छन । मेरो यतिबेला दिमागमा दुईवटा प्रभावशाली शेरहरू खेलिरहेका छन । यी त यतिबेला ठ्याक मेरो दिमागमा आएका मात्र केही प्रतिनीधि शेरहरू हुन
आऊ तिम्रो पैतालामा मालाम लागाइ दिन्छु
मेरै छाती कुल्चेका छौ काँडा बिझ्यो होला
–आवाज शर्मा
मलाई चर्चा गर्नेहरू देखि डर लाग्छ
तेलमा डुबेर नै बाती सकिन्छ
–एम पी केयरलेस
यस्ता र यो भन्दा अझ मथिका शेरहरू लेखिएको छ तर पनि गजललाई कविता जत्तिको पनि स्वीकार्न गारो परिरहेको छ ।
बुझ्न त गाली गर्नेहरूले पनि यो कुरा बुझेका छन तर उनीहरूको औंला आज पनि नेपाली गजलको कमजोर पक्षमाथि ठडिने गर्छ किनकि एकथरीलाई हिजो गजलका प्रति आफूले बोलेको धारणाबाट नै डर लग्न थालिसकेको छ भने अर्का थरि अरुलाई सानो देखाएपछि आफू ठुलो देखिन्छु भन्ने भ्रममा छन् । मैले यति लेखिरहदा केही कवि र लेखक प्रति माफी चाहन्छु जो विधालाई भन्दा काव्यिक शक्तिलाई सम्मान गर्नुहुन्छ र राम्रो आयो भने गजललाई पनि सम्मान गर्नुहुन्छ मन पराउनुहुन्छ ।
भारतमा दुशेंत कुमारले गजल लेखेर कविताको ट्रेन परिवर्तन गरिदिएका थिए । विकोपिडीयामा हेर्याे भने उनको नाम भारतका गजलकार मध्यको अग्र स्थानमा छ । उनले कहिल्यै विधा हेरेर कलम चलाएनन् र उनलाई पढ्नेहरूले पनि विधा हेरर पढेनन् । उनको खुबीलाई पढे । कति नेपालका कविहरू उनका एकाक्षरी गजललाई कविता ठानेर पढ्दा रहेछन र राम्रो कविता भनेर यदा कदा राखेको देखिन्छ ।
यत्रो इति वृतान्त सुनाइ सकेपछी केहि निष्कर्श बिना नै छांडे भने मेरो पाठक प्रतिको अन्याय हुन सक्छ । मेरो बिचारमा चाहिं नेपालमा सबैभन्दा पहिला गजललाई पनि कविताकै एउटा रुप हो भनेर कविता जत्तिको स्विकार गर्न सक्नुपर्छ । त्यसपछि विधालाई भन्दा पनि काव्यिक चेतनालाई हेरर सिर्जनाको मूल्यांकन गरिनुपर्छ । यतिसम्म भयो भने नेपाली गजल कम्तीमा गालीको सिकार हुनुपर्दैन थीयो होला भन्ने मेरो अनुमान हो ।
Post a Comment