पछिल्लो अपडेट

Saturday, May 24, 2014

टीकाराम रेग्मी - पैसा

‘टिर्र‘‘टिर्र‘‘‘टिर्र’ मोवाइलको घन्टी बज्यो ।‘सर, तपार्इं कता हुनुहोला, एक पटक अस्पतालसम्म आउन भ्याउनु हुन्छ ?’ उसले सोच्यो यो पक्कै पनि समस्या बोकी आएको सन्देश हो ।
आफ्नी गर्भवती बुहारी जन्डिसले आक्रान्त भएको थाहा हुनासाथ सिङ्गै बस रिजर्भ गरी छिटो उपचारको लागि चिनेको स्त्रीरोग बिशेषज्ञको क्लिनिकमा तीन दिन भर्ना गरी राखेपछि अस्पताल पठाइएकी उनी आज पाचौं दिनदेखि अस्पतालको शैयामा लडिरहेकी थिइन । अस्पतालको उपचारले स्वास्थ्यावस्था त फेरिएछ, तर उनि त ‘हल न चल’को अवस्थामा पुग्ने गरी फेरिइछन् ।
उसले हेर्यो, बिरामीका याचनायूक्त रसिला आँखामा आँखा जुधे । फर्कदा आँखाहरू पोखरी बनिसकेका थिए । उसले आँखा पुछ्यो र घडि हेर्यो – निडलले दुई देखाइरहेको थियो। छोरो सम्बिधान बनाउने महामानवको खोजिमा दुर्गम गाउँ पुगेको थियो ।
‘प्राइभेट अस्पतालमा राख्दा फिजिसियनले हेरेनन ?’ उसले सोध्यो ।
‘खोइ, नयाँ डाक्टर त कसैले हेरेनन । उनैले दिनमा दुई पटक हेर्थे । रगत जाच्ने, भिडियो एक्सरे गर्ने, अरू पनि केजाती केजाती जाँच गरेथे । ’ उसले जवाफ पायो । ‘छोरोलाई पर्खी बस्नु त हुन्न होला सर । कतिखेर थाहा पाउला, छुट्टी पाउँछ पाउँदैन ।’ बुढाको रुञ्चे स्वरमा बोल्यो ।
‘अब के गर्ने ?’ उसले फिजिसियनलाई फोन गर्यो । ‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोवाइलको स्वीच अफ गरिएको छ ।’ स्त्रीरोग बिशेषज्ञलाई डायल गर्यो । जवाफ दोहोरियो । उनको प्राइभेट क्लिनिकको नम्बर डायल गर्यो । जवाफ पायो – ‘तपाईंले डायल गर्नु भएको नम्बर अहिले ब्यस्त छ, पुनः डायल गर्नु होला ।’ पुनः गर्यो । पुनः गर्यो । गुनासो धेरै तिर पुग्यो
दुई मिनेटमा फोन आयो – ‘तपाईको बिरामीलाई पाटन अस्पताल रिफर गरिदिएको छु, लानु भए हुन्छ ।’ । स्त्रीरोग बिशेषज्ञ रहेछन् ।
रिफर गरिएको अस्पतालमा पुर्याएको दोस्रो दिन डाक्टरले भने, ‘हामी अत्यन्त दुखी छौं, बच्चाको मृत्यु पाँच दिन पहिले नै भइसकेको रहेछ, हामी आमालाई बचाउने पर्यत्नमा छौं ।’ ऊ समेत उनका परिवार हिमशिखरबाट फेदिमा पछारिए ।
त्यसको तेस्रो दिन आमालाई पनि शबवाहनमा देवघाट ल्याई चितामा सुताइ रहँदा बुढाले भने --‘पैसाले आफन्त, चिनजान, पेशागत दायित्व सबैका आँखामा पट्टी लगाउँदो रहेछ है ?’



Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.