हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने, असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे, चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच, त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ ।
कतिपय मान्छेहरू भन्ने गर्छन्, 'यति धेरै समस्याहरू छन्, अत्यासलाग्दो स्थिति छ, जताततै प्वालैप्वाल छन्, एकातिर टाल्यो अर्कोतिर चुहिन्छ, एकातिर सियो अर्कोतिर फुस्किन्छ, त्यसैले कसरी सकारात्मक हुने ? सबै मान्छे खराबै-खराब देखिन्छ, आसै मरिसक्यो । यो सकारात्मकता भन्ने त आदर्शमात्र हो ।'
अरु कतिपय मान्छेहरू परिवर्तनका लागि अहिलेको समय उपयुक्त छैन भन्छन् । 'संविधानै छैन, स्थिर सरकार छैन, राजनीतिक नेतृत्व नै सक्षम छैन, कहाँबाट रूपान्तरण हुन्छ ?' भन्नेहरू पनि छन् । अरु केही मान्छे भन्ने गर्छन्, 'यति ठूलो समाजमा मैले मात्र गरेर के हुन्छ र ? सबैले गरे त मैले पनि साथ दिने थिएँ ।'
नेता ठीक भए सबै ठीक हुने थियो भन्ने र कुनै चमत्कारिक मान्छे आएर हाम्रो समाज रूपान्तरण गरिदेला कि भनी भाग्य कुर्ने पनि हाम्रो समाजमा प्रशस्तै छन् । त्यस्ता मान्छेहरू परिवर्तन फुत्त जमिनबाट निस्केर संसारलाई उज्यालो बनाइदिने वा आकाशबाट कुनै उज्यालो पिण्ड खसेर हामीलाई ज्योति दिने जस्तो चमत्कारिक व्यक्ति आएर हाम्रा सबै समस्या हल गरिदिनेछन् भन्ठान्नेहरु पनि छन् । मेरो विचारमा ती सबै विचार ठीक छैनन् । सही विचार त के हो भने यदि जताजतै समस्यै समस्या छन् भने परिवर्तनका लागि जताततै अवसरै-अवसर छ । यहाँ केवल आफैंले सुरु गर्ने प्रयत्न वा उपयुक्त ठाउँको खोजी गरी भूमिका निर्वाह गर्न इमानदारीतापूर्वक लाग्ने इच्छाशक्ति वा तत्परताको खाँचो छ ।
कतिपय मानिसहरू खोलाको पानीको मुहानको उदाहरण दिँदै नेतातर्फ संकेत गरेर माथिबाटै सुधि्रनुपर्छ भन्छन् । त्यो उत्तम विचार हो । एउटा उदाहरण हेरौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, सन्तनेता, उहाँ छाता र सुराही बोकेर प्रधानमन्त्री निवास जानुभयो र छाता-सुराही बोकेरै त्यहाँबाट फर्किनुभयो । पक्कै पनि उहाँले भ्रष्टाचार गर्नुभएन, किनभने पदीय जिम्मेवारी छोडेर जाँदा केही पनि सम्पत्ति थिएन, उहाँसँग । सरकारले दिएको एउटा घरमा बसेर बित्नुभयो । त्यसकारण उहाँको नेतृत्वकालमा मूल सफा थियो भन्नेमा विवादै रहेन । अब के हामी भन्न सक्छौं, उहाँको कार्यकाल भ्रष्टाचार निवारणका हिसाबले नेपालको शासकीय कालखण्डमा स्वर्णकाल हो ? अहँ सक्दैनौं । त्यसो भए भ्रष्टाचार निवारणका लागि मूल सफा हुनपर्दैन त ? मूल सफा त हुनैपर्छ । यो अनिवार्य सर्त हो, तर पूर्ण सर्त भने होइन । आफूले गर्नैपर्ने र गर्नसक्ने प्रयत्न नगर्ने वा खराब कर्मलाई प्रोत्साहन दिनेहरू मूल सफा हुनुपर्छ भन्ने मूलमन्त्रलाई आफ्ना खराब कर्म छोप्ने बहानामात्र बनाइरहेका छन् । कर्तव्यच्युत हुनेहरूका लागि यो गतिलो बहानाबाजीमात्रै हो ।
कोही माथिको मान्छे सुधि्रएर मात्र यो मुलुक सुधि्रँदैन, कोही तलको मान्छे राम्रो भए पनि यो मुलुक सुधि्रँदैन । यो मुलुक सुधि्रन त सर्वप्रथम 'म' सुधि्रनुपर्छ । सबै सुधार र रूपान्तरणको प्रस्थानबिन्दु 'म' हो, माथि वा तल होइन । बिगि्ररहेको ठाउँमा 'म' कहाँनिर सुधार गर्न सक्छु भन्ने पहिचान गरी सुरुवात त्यहींबाट गर्ने हो । यो कुरा भ्रष्टाचार निवारणमा लागू हुन्छ, सरसफाइमा पनि लागू हुन्छ, विकासमा लागू हुन्छ, घरमा र समाजमा पनि लागू हुन्छ । यो भनाइलाई समाज रूपान्तरणमा नेतृत्वको भूमिका अवमूल्यन गर्ने रूपमा बुझनिु हुँदैन । असल काम गर्नेलाई सघाउने तत्परताको अभावमा असल नेतृत्व निर्माण हुनै सक्दैन । नेतृत्व निर्माणको क्रममा जिम्मेवारी नागरिक 'म'ले धैर्यपूर्वक आत्मअनुशासनमा बसी इमानदारीपूर्वक कर्तव्य पालना गरी प्रणालीको निर्माणमा जुट्ने हातलाई साथ दिने र सामूहिक हितका लागि व्यक्तिगत, पारिवारिक, गुटगत र दलगत स्वार्थ त्याग्ने 'म'हरूको खाँचो छ ।
स्वार्थ त्याग्न नसकेका कारण नेतृत्व निर्माणमा हामी नराम्ररी चुकेका छौं । हाम्रा अतृप्त इच्छा पुरा गरिदिन कुनै अमूक व्यक्ति आउँछ भन्ने ठानेर कुनै व्यक्तिलाई देवत्वकरण र हाम्रा अपेक्षा पुरा गर्न नसक्ने वा स्वार्थमा बाधक ठानेर दानवीकरण गरेका छौं, पटक-पटक नेतृत्वलाई हामीले । सामाजिक सञ्जालहरू हेर्यौं भने सबै नेताहरूलाई निकृष्ट र तुच्छ गाली गरिएको पाउँछौं । त्यो विचार कहाँबाट आयो ? सम्भवतः हामीले विजारोपण गरेको नकारात्मक विचारको उच्चतम उत्कर्ष हो त्यो । हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं । कर्म गर्न सिकाउनुपर्नेमा भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसको हातमा सुम्पने प्रवृत्तिको विकास गर्यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन ।
नेतृत्व हामीजस्तै तर हामीलाई बाटो देखाउने केवल एक व्यक्ति हुन् भन्ने यथार्थ सायद हामीले बिस्र्यौं । नेतृत्वको निर्माण समाजले गर्ने हो, समाजको महत्त्वपूर्ण इकाइ परिवार र परिवारको इकाइ 'म' हो । 'म' त्यागी, इमानदार, मिहेनती र सद्भाव राख्ने मान्छे भएँ भने मैले छान्ने नेतृत्वमा पनि ती गुण वेष्ठित हुनेछन् । म स्वार्थी, बेइमान, आत्मकेन्दि्रत भएँ भने चाहेर पनि मेरो नेतृत्व असल गुणयुक्त हुनै सक्दैन । म असल तर मेरो नेतृत्व खराब हुनै सक्दैन । त्यसैगरी मेरो नेतृत्व असल र म खराब हुनै सक्दैन । त्यसैले नेतृत्व हाम्रै गुणहरूको समष्टि हो र नेतृत्वले गर्ने काम वा व्यवहार हाम्रै अपेक्षा, चाहना, दबाबको अभिव्यक्ति हो । यो मुलुकमा आफूलाई बुज्रुक र जानकार ठान्ने कसैको परीक्षण बाँकी छैन । धेरै, थोरैको कुरामात्र हो । प्रत्यक्ष र परोक्षको कुरामात्र हो । परीक्षणबाट फेल भएकाहरूले आत्मसमीक्षा गर्ने कि कसैलाई गाली गरेर आत्मरतिमा रमाउने ?
गएको ५०० वर्षको विश्वको विकासक्रम हेर्दा, कोही विज्ञ र परामर्शदाता बाहिरबाट ल्याएर ठूल्ठूला प्रतिवेदन बनाइदिएर वा बाहिरबाट पैसा ल्याइदिएर, दान र उपहार दिएर सम्पन्न भएको कुनै पनि मुलुक छैन । युरोप, अमेरिका, जापानजस्ता मुलुकको विकासमा पुस्तौं-पुस्ताको त्याग र समर्पण छ । कोरिया, सिङ्गापुर, मलेसियाजस्ता मुलुकहरूले एउटै पुस्ताको अद्वित्तीय त्यागबाट विकासको चरणमा फड्को मारेका हुन् । चीन र भारत त्यही बाटोमा अग्रसर छन् । तपाई-हामीजस्ता सचेत नागरिकहरूको त्याग, समर्पण र कर्तव्यपरायण बिना कुनै पनि समाजको रूपान्तरण सम्भव भएको इतिहास छैन । विकास भनेको हामीले नै गर्ने हो । सुरुवात आफैंबाट हो । मैले के गर्न
सक्छु, त्यो मैले गर्ने हो । मैले गर्नसकेको कुरा गरेर मात्र अरुलाई यसो र उसो गर भन्ने हैसियत मैले बनाउन पाउँछु ।
पूर्वीय दर्शनमा पाँचवटा कुरा त्याग्न भनिएको छ ः काम, क्रोध, लोभ, मोह र अहंकार । यी त्यागे मुक्ति पाइन्छ भनिन्छ । यी पाँच कुराले हाम्रो शरीरमा नकारात्मक ऊर्जाको सञ्चार गरिरहेका हुन्छन् । त्याग्ने भनेको ती नकारात्मक ऊर्जालाई हाम्रो मन, शरीर, विचारमा ठाउँ नदिऊँ भनेको हो । जसले समाज रूपान्तरण गर्छु भन्छ, उसले यी पाँच कुरा त्याग्न प्रयत्न गर्नुपर्छ ।
महाभारतमा कौरव १०० भाइ र पाण्डव ५ भाइ थिए/थिएनन्, त्यो मलाई थाहा छैन । तर मैले बुझेको कुरा कुनै एउटा समाजमा एउटा कालखण्डमा खराब विचारको प्रतिनिधित्व गर्ने मान्छेहरू १०० जना भए भने सही विचारको प्रतिनिधित्व गर्ने मान्छे ५ जना हुन्छन् । ती पाँचजनाले त्याग, तपस्या गर्छन्, वनवास जान्छन्, गुप्तवास बस्छन्, सबै खाले कठिनाइ र प्रतिकूलतासँग लड्छन् र अन्त्यमा विजय प्राप्त गर्छन् । अर्थात् एक सयमा पाँचले सत्य र न्यायका लागि लडिरहन्छन्, त्याग/बलिदान सबै गर्छन् र अन्त्यमा, समाजलाई रूपान्तरण गरिछाड्छन् भन्ने हो । अहिले त्यही पाँचको खोजी, कर्तव्यपथमा अविचलित कर्मयोगीको कार्य र सिर्जनाको प्रबर्द्धन र उनीहरूका सत्कर्मको संयोजित विस्तार आवश्यक छ ।
यो सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरामा हामी थोरै छौं वा तत्काल लाभ भएन भनेर हीनताबोध गर्नुपर्ने कारण छैन । भनेजस्तो नतिजा आएन भनेर असल काम छोड्नु पनि पर्दैन । एक्लै वा अल्पमतमा परेंँ भनेर सत्कर्म छोड्नु हुँदैन । सकारात्मक कर्मबाट प्राप्त हुने ऊर्जा र त्यसको विस्तारबाट समाज रूपान्तरण हुन्छ भन्ने मेरो विश्वास छ । नतिजाको कुरा गर्दा गीतामा भनिएको- कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः को अर्थ केलाउनुपर्ने हुन्छ । हामीलाई यो श्लोकको अर्थ काम गर्दै जानु, फलको आस नगर्नु भनी सिकाइयो । तर त्यो सत्य होइन । मेरो तुलनात्मक सत्यमा आधारित ज्ञानले भन्छ, उक्त श्लोकको अर्थ कर्म गर फलको र नतिजाको अपेक्षा पनि गर, तर फल र नतिजाप्रति आसक्त नहोउ भनेको हो ।
कुनै कुराप्रतिको आसक्तिले कर्मको फल सधैं नकारात्मक हुन्छ । मान्छेले असाध्यै धेरै आसक्त भएको कुरा पायो भने संसारै पाएँ भन्ने ठान्छ र अहंकार बढ्छ । सबै पाएपछि अगाडिको कुराको खोजी पनि गर्दैन । फलस्वरुप फलप्रतिको आसक्ति र त्यसको प्राप्तिले उसको र उसमार्फत समाजको प्रगति अवरुद्ध हुन्छ । त्यसैगरी फलप्रतिको एकदमै धेरै आसक्ति र अप्राप्तिले चरम निराशा आउँछ । त्यसैले मैले बुझेको कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः भनेको कर्म गर, फलको अपेक्षा पनि राख, तर फलप्रति आसक्त नहोऊ भनेको हो । यदि अपेक्षा नराख्ने हो भने त मान्छेले कर्म गर्दै गर्दैन । त्यसकारण नयाँ सन्ततिलाई सिकाउनुपर्ने शिक्षा भनेको कर्म गर र फलप्रतिको आसक्तिलाई कम गर भन्ने नै हुनुपर्छ ।
पौड्यालल नेपाल सरकारका मुख्य सचिव हुन् ।
Post a Comment