पछिल्लो अपडेट

Monday, June 9, 2014

जीवन 'पीडित' दहाल - लघुकथा_चाख

     लेकको पानीले निथ्रुक्क हुनेगरि भिजाएकाले लगलगि काम्दै भए पनि पूजाअर्चना सकें र दुइहात जोडेर कालिन्चोक भगतीका मूर्ति सामु उभिएर भनें–‘प्रणाम माता ।’

    मेरा उपस्थितिले भगवतीको अनुहार झन मलिन भएको अनुभव हुन गयो मलाई अनि मैले सानो स्वरमा साउति मारेर सोधे–‘मलाई देखेपछि किन तिम्रा मुहारको कान्ति हरायो माता ? तिमी खुशिहुनु पर्ने होइन र ?’
मैले प्रश्न राखिसक्न नपाउँदै भगवतीले अलि रोष भरिएको स्वरमा भनिन्–‘देखेको छैन मेरो हविगत र बुझ पचाएको ? तिमीलाई एकझर पानीले भिज्दा यस्तो छ म कसरी सताब्दियौं देखि यो हुरहुरे डाँडामा रहेकी हुँला ? आफैं अनुमान लगाउ न ।’

    मैले देवीको आसय त बुझें तर पनि मैले लाचार भएर बुझ पचाउँदै भनें–‘म पनि के गर्न सक्छु र माता ? आफू त परें खल्तिटाट लेखक, धन्न ब्यापारी इष्टहरुका सौजन्यतामा तिम्रो दर्शन गर्नसम्म त आएँ तर तिम्रो शिरमाथि छानै हाल्ने हविगत त कहाँ छ र मेरो ?

     मेरो कुरा सुनेर देवीको मुहारमा झन निरासाको बादल मडारियो अनि उनी बाह्रबिसे बजार तिर एकोहोरिन । अनि भगवतीलाई एकैछिनमात्रै भए पनि खुशि बनाउँनु प¥यो भन्ने ठानेर मैले भनें–‘मैले नसके पनि एउटा उपाय भनें छ माता तर तिम्रो अनुमति चाहिन्छ ।’

    ‘के उपाय छ भन त’–देवीले अलि उज्यालो अनुहार बनाएर मेरा कुरामा चाख देखाउँदै भनिन ।
‘कालिन्चोक भगतीको मन्दिर बनाउँने भाकल गरे प्रधानमन्त्री पक्का; भनेर काठमाण्डौमा हल्ला फिजाइ दिनुपर्छ अनि यस स्थानमा एउटामात्र हैन कुरीसम्म मन्दिरै मन्दिर हुन्छ ।’–मैले भगवतीलाई ढाडस दिएँ ।



 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.