त्यो दिन घर फर्कदा फर्कदै ढिला भयो । साइटबाट साझँ ५ बजे छुट्टि भएर निस्किएको थिएँ , साथी राजेशले अत्ति कर गरेर उसको घर गएँ । मलाई पिउन मन नै थिएन र पनि नपिइकन सुखै पाइन । पिएपछि उहि त हो अफिसका हाकिमदेखि पियूनसम्म सबका कुराहरु निस्किए । घरि रोए झैँ गर्दै त घरि हाँसे झैँ गर्दै उसले आफ्ना पारिवारिक कुराहरु पनि सुनायो । बल्ल बल्ल ९ बजेतिर म उसको घरबाट निस्किन पाएँ । " म छोड्न जानुपर्छ ? ", ऊ हल्लिदै माथि बरान्डाबाट भन्दै थियो । " नाँई , एक्लै जानसक्छु । गुड नाइट ! ", भन्दै कार लिएर म घरतिर फर्किएँ ।
आकाश अध्यारो थियो , सडकमा कुकुरहरु भुकिरहेका थिए । सडकका ल्यामपोष्टहरु भने रातको अध्यारोमा मज्जासगँ चम्किरहेका थिए । मेरो टोलका पनि सबै मानिसहरु सुतिसकेकाले होला टोल पुरै सुनसान थियो । घरको गेटसामु पुगेँ र गाडिबाट ओर्लिएँ । छेउको घन्टि बजाएँ ।तर अहँ त्यो साँझ इन्दिरा गेट खोल्न झरिन । तल्लो फ्लाट महेशले भाडाँमा लिएका थिए , उनैलाई गेट खोल्न अर्याएँ । बिचरा उनि केहि नबोली सरासर आएर गेट खोलिदिए । म गाडिभित्र पसेँ र उनलाई धन्यवाद भनिदिएँ । चेनगेट खुल्ला नै थियो, मेन गेटमा साँचो लगाईदिएँ र माथि उक्लिएँ । 'इन्दिरा , इन्दिरा ' भनेर दुईतिन पटक बोलाएँ तर इन्दिराको जवाफ कतैबाट आएन । छोरी स्मृति आफ्नो कोठामा निदाईसकेकी थिई । उसलाई गएर निदारमा चुम्बन गरेँ र केहिबेर उसको निदाएको अनुहार हेरेर बसिरहेँ । भान्छामा अध्याँरो थियो । गएर हेरेको इन्दिराले पनि खाना खान बाँकि नै भएको देखेँ । 'कहाँ गई इन्दिरा ? ' म बडो तनाबमा परेँ । पिएर आएको हुँदा उसले गाली गर्ली भन्ने डर लागिरहेको थियो तर अब ऊ कहाँ गई भन्ने नयाँ डर पलाउन थाल्यो । ' इन्दिरा , इन्दिरा ' भन्दै माथि टि.भि . कोठामा गएँ तर ऊ त्यहाँ पनि थिइन ।
गोजिमा छामेँ , मोबाइल त गाडिमा नै पो छुटेको रहेछ । फेरी तल झरेँ र गाडिबाट मोबाइल झिकेँ । साँझ ६ बजेतिरका उसका ३ ओटा मिस्ड कलहरु थिए । उसलाई डायल गरेँ तर उसको मोबाइल उठेन । माथि उक्लिनु अघि एकपटक महेशको ढोका ढक्ढकाएँ ।
" इन्दिरा कता गईछ , देख्नु भो बाबुले ? " मैले आफ्नो ज्यानलाई भित्तामा आडेश लगाँउदै सोधेँ । " खोई , ६ बजेतिर त घरमैँ हुनुहुन्थ्यो । एकपटक कल गर्नुस् न , " महेशले सल्लाह दिदैँ भने । "कल त गरेको तर फोन नै उठेन ," भन्दै म माथि उक्लिएँ । फेरी उसको मोबाइल नम्बर डायल गरेँ । एकछिन पछि फोन त गयो तर उसले मोबाइल माथि कोठामा नै छोडेर हिडेकी रहिछ । एकैछिन त्यहि पलङमा पल्टिएर उसकै बारेमा सोच्न थालेँ बिहान अफिस जाने बेलामा त सबै कुरा ठिकै थियो । उसले मुस्कुराएरै बिदा गरेको पल दिमाखमा झल्झली याद आइरह्यो ।
इन्दिरा र मैले ६ बर्ष अगाडि प्रेम बिवाह गरेका थियौँ । हुन त हाम्रो त्यो भन्दा अगाडि खासै भेटघाट भएकै थिएन तर पनि हामी एक अर्काको प्रेममा चुर्लुम्म डुबिसकेको हुदाँ बिवाह नगरि बस्नै सकेनौँ । हाम्रो अचानक बिहे भयो । बिवाहका लागि उसको परिवार धनगढिदेखि नेपालगन्ज आएको थियो । मेरो बुवाआमा पनि एकदिनको बस यात्रा गरेर त्यहि आइपुग्नुभएको थियो । इन्दिरा र म काठमाण्डौँबाट बिहेको अघिल्लो दिन त्यहाँ पुगेका थियौँ । नजिकका आफन्तजनहरुको मात्र उपस्थितीमा सामान्य हिन्दु परम्परा अनुसार हाम्रो बिवाह सम्पन्न भयो । बिहे भएदेखि आजसम्म सानो कुरामा पनि हाम्रो मनमुटाब भएको मलाई याद थिएन । त्यसैले पनि आज ऊ यसरी एकाएक गायब भइदिँदा मलाई भुँईचालो गएको अनुभुति भईरह्यो ।
केहि थाहा छ कि भनि एकपटक धनगढिमा रहेको उसको माईतिमा फोन गरेँ । शुरुमा इन्दिराको बुवासगँ सन्चो बिसन्चोबारे सामान्य कुरा भयो अनि इन्दिराको आमा बोल्नथाल्नु भयो । " इन्दिरा सन्चै छ बाबु ? " भनेर सोध्नुभयो । "अँ , सन्चै छ आमा ," भनिदिएँ । फेरि ' छोरीलाई दिनु न एकपटक फोन ' भनेर भन्नुभयो । म अक्कबक्क परेँ । लौ ! के भनेर टारुँ जस्तो भयो । मनमा ब्यर्थै फोन गरेछु जस्तो पनि लागिरह्यो । ' आमा ऊ त अहिले भान्छामा छे ' भनेर टारिदिएँ । उहाँले हास्दै ' होइन , नातिनी छोरिलाई दिनु ' भनेको भन्नुभयो । मैले लामो सास फेर्दै भनिदिएँ , " ऊ त निदाइसकि आमा ।"
अरु धेरै कुरा नगरिकन फोन राखिदिएँ । अरुहरुलाई त फोन गर्न पनि मन लागेन । अरु त आखिर को नै पो थियो र फोन गर्नलाई पनि ? सोच्दासोच्दै सायद रक्सी लागेर पनि होला भुसुक्क निदाएछु ।
ब्युझिदाँ इन्दिरा छेउमा सुतिरहेकि थिई । म त अचम्मित परेँ । छेउमा घडि हेरेको बिहानको ४ बजेको थियो । " इन्दिरा , " उसलाई हल्लाउँदै बोलाएँ । ऊ 'हँ' गर्दै अर्कोतर्फ फर्किई । उसले आखाँ चिम्लिइरहेकै थिई । " कहाँ गएकी थियौ तिमी हिजो ? " मैले उठेर बस्दै सोधेँ । उसले फेरी निन्द्रामैँ 'हँ ' गरी । मलाई फेरि सोध्नै मन लागेन , ऊ मस्त निन्द्रामा सुतिरहेकी थिई । म फेरी ऊ कहाँ गएकी थिई होला भनेर टोलाउन थालेँ तर अहँ केहि अनुमान लगाउन सकिन ।
म त्यो दिन पनि सदा झैँ उठेर मर्निङ वाकमा निस्किएँ । अनिल , समुन्द्र र बिमल मेरा मर्निङ वाकका साथिहरु थिए तर उनिहरुसगँ एक शब्द पनि नबोलेरै घर फर्किएँ । अरु दिन घर अगाडिको स्टेशनरीमा आधा घन्टा भुलेर मात्रै घर फर्किन्थेँ तर आज त्यसो गरिन । सरासर पत्रिका किनेर घर आएँ । ऊ बाथरुममा नुहाँउदै थिई , म बैठक कोठामा बसेर पत्रिका पढ्न थालेँ । ऊ नुहाएर सकेपछि हातमा दईओटा चिया लिएर बैठक कोठामा आइपुगी । मैले पत्रिकाको बिचको पृष्ठ पढ्दै थिएँ , उसले सामान्य गरी शुरुको पेज मागी । म उसलाई सोध्न लाउँदै थिएँ , ऊ आफैले ' हिजो किन ढिला गर्नुभएको ? ' भनेर सोधी । " हिजो साइटमा गएको थिएँ , आउँदा आउँदै ढिला भो , " मैले स्पष्टिकरण दिएँ । " अनि त्यस्तो बिधी रक्सिचाहिँ कहाँ खानु भएको नी ? " उसैले फेरी सोधी । " रक्सि ............ राजेशले अत्ति कर गर्यो अनि ...... " म अकबकाएँ , " अनि तिमीचाहिँ कहाँ गएकी थियौ नी ? " उसले मलाई हेरेर मुसुक्क मुस्कुराई र भनि , " यहिँ छोरीको कोठामा त थिएँ नी ।"
" अनि मैले बोलाउँदा किन नबोलेको त ? "
" रिसाएर नी ...... त्सस्तो गरी पनि कसैले पिउँछ ? " उसले रिसाएझैँ गर्दै भनि ।
ओहो ! मैले भनेँ यता के के सोच्न भ्याईसकेको !
इन्दिरा एकदमै संस्कारवाली मान्छे थिई । हरेक सोमबार मेरालागि भन्दै ब्रत बस्ने गर्थी । बिहान , साँझ नुहाएर भगवानको पुजा गरेर मात्र खाना खाने गर्थी । यस्ती इन्दिराको नराम्रो सोच्नु त मेरा लागी ठुलो पाप गर्नु समान नै हुन्थ्यो । पहिले इन्दिराले पनि मेरै अफिसमा काम गर्ने गर्थिन् तर पछि छोरी पेटमा भएपछि म आफैँले उनलाई जागिर छोड्न लगाएँ । अब फेरी उनका लागि नयाँ जागिर खोज्दै थिएँ तर भनेजस्तो पाईरहेकै थिइन । नानीलाई स्कुल पुर्याउने , ल्याउने काम पनि थपिएको हुदाँ नजिकैको जागिर भए उनलाई सजिलो हुने गर्थ्यो ।
छोरी सानै भए पनि घुम्न जान खुब मन गर्थी । त्यसैले हामी प्राय बिदाको दिनहरु घुमेरै बिताउने गर्थ्यौ । " छोरीलाई बाबा र ममीमध्ये कसको बढी माया लाग्छ ?" म छोरीलाई अक्सर सोधिरहन्थेँ । ऊ हरेकपल्ट ' बाबाको ' भन्थी तर ममि बिना एक मिनेट पनि बस्न सक्दिनथी । मेरो बुवा आमा दाई भाउजुसगँ गाउँमै बस्नुहुन्थ्यो , जत्ति कर गर्दा पनि उहाँहरु काठमाण्डौँ आउन मान्नुभएन । सायद उहाँहरु पनि हामीसगैँ भएको भए हामी अझ बढि खुशी हुने थियौँ ।
त्यो दिन स्मृतिको पाँचौ जन्मदिन थियो । इन्दिराले मलाई अफिस जाने बेलामा ' साझँ छिटो फर्किनुहोला' भनेर सम्झाएकी थिई । म अफिसबाट छिट्टै बिदा मागेर घर फर्किएँ । छोरी स्मृति त्यो दिन परिजस्तै राम्री देखिएकी थिई । कोठाहरु बेलुनले सजाइएको थियो । इन्दिराले महेशला्ई पनि निम्ता गरेकी रैछिन् , उनि पनि माथि आए । छोरी स्मृतिले केक काटिन् र इन्दिरा , मलाई र महेशलाई पालैपालो केक खुवाइदिईन् । मैले पनि उसलाई केक खुवाइदिएँ । उपहारमा उसलाई सुनको सानो माला लगेको थिएँ , त्यो लगाईदिएँ । महेशले पनि आफूले लगेको उपहार उसको हातमा राखिदिए । ऊ उपहारहरु पाएर दङ्ग देखिन्थी । केहि बेरमै महेश र मेरो खानपिन शुरु भयो । दुइटा पेलेटमा मासु , सलाद र ठुलो वाइनको बोत्तल छेउमा राखिदिएर इन्दिरा टि. भि. कोठातर्फ लागिन् । महेश उमेरमा तिस लागेपनि अबिवाहित थिए । " महेश जी , अब तपाँईले पनि बिहे गर्नु । एक्लै त कसरी जीन्दगी कटाउनुहुन्छ ? " बिस्तारै रक्सि चढ्न थालेपछि मैले प्रसङ्ग शुरु गरेँ ।
" खोई , म त कहिल्यै बिहे गर्दिन होला दाई , " उनले निकै निराशा भरिएको स्वरमा भने । एकछिन टोलाए र आफ्नो प्रेम प्रसङ्ग सुनाउन शुरु गरे , " दाई म एकजनालाई औधी माया गर्छु । ऊ पनि मलाई माया गर्छे तर बिहे गर्न सक्दिन भन्छे । न म उसको अगाडि अरुसगँ बिहे गर्न सक्छु , न ऊ मसगँ बिहे गर्न मान्छे । त्यसैले मेरो बिहे असम्भब छ दाई ।"
मैले उनलाई अरु कसैसगँ बिहे गर्ने सल्लाह दिएँ तर उनि बाराम्बार आफुले प्रेम गरेको मान्छेलाई धोका दिन सक्दिन भनिरहे । एकपटक मलाई एकाएक पन्ध्र दिनका लागि अफिसबाट राजधानी बाहिर जाने काम पर्यो । पहिलो दिन पहाडको घरमा गएर बसेँ र बुवा आमालाई पनि भेटेँ । अर्को दिन साझँ गन्तब्यमा पुगेँ । पन्ध्र दिनका लागि भनेर गएको भए पनि काम एक हप्तामै सकियो र म छिट्टै काठमाण्डौँ फर्किन पाउनेभएँ । यत्तिबेला छोरीको स्कुल पनि बिदा थियो त्यसैले मैले सपरिवार इन्डिया टुर जाने योजना बनाएँ । इन्दिरा र छोरी दुबैलाई सरप्राइज दिनका लागि मैले इन्दिरालाई पनि खबर नगरी काठमाण्डौँ फर्किएँ । सिधै ट्राभल एजेन्सीमा गएर टिकट लिई घरमा गएँ तर घरको त गेटमा ताल्चा लगाएको थियो । इन्दिराको मोबाइलमा फोन गरेर ' कहाँ छौ इन्दिरा ? ' भनेर सोधेँ । उसले 'म घरमै छु' भनेर मलाई ढाँटी । हामी प्राय बाहिर कतै हिड्दा घर अगाडिको पसलमा साँचो छोडेर हिड्ने गर्थ्यौ । " इन्दिरा कतिबेला बाहिर गएकी हो दिदी ? " मैले पसलकी दिदीलाई सोधेँ । " उहाँ त अस्ति नै जानुभएको हो ," दिदीले मलाई साँचो दिदै भन्नुभयो । त्यो भन्दा बढि त केहि सोध्नै मन लागेन । ' ऊ कहाँ , कोसगँ गई ? ' भन्ने कुराले मलाई ठुलो तनाब दियो । ऊ यसरी मलाई ढाँटेर आजसम्म कतै गएकी थिइन । किन किन मलाई अत्ति रक्सि पिउन मन लाग्यो । माथि रुममा गएँ र दराजबाट रक्सि निकालेर पिउन थालेँ । बिस्तारै रक्सि चढ्दै गयो र मैले पनि होश गुमाउँदै गएँ । अगाडि भित्तामा उसको र मेरो ठुलो फ्रेमवाला फोटो थियो । एकैछिन त्यसलाई घोरिएर हेरेँ र पिउँदै गरेको बोत्तलले हानेर फुटाईदिएँ । रुम पुरै सिसै सिसाले भरियो । उसका बारेमा ठुला ठुला शङ्काहरु पलाउन थाले । उसलाई फेरि कल गरेँ । उताको आवाज खासै प्रस्ट सुनिएन । फेरि फोन गरेँ तर यो पल्ट उसले फोन उठाइन । म रिसले झन् रातो भएँ । घरि शिरलाई भित्तामा ठोक्न मन लाग्थ्यो त घरि जोड जोडले कराउन ।
यत्तिकै भुइँमा सुतिरहेको थिएँ , रातको नौ बजेतिर मेन गेट खोलेको आवाज सुनेँ । अगाडिको बरान्डामा गएर तल हेरेँ । इन्दिरा छोरीलाई पिठ्यूमा बोकेर उभिएकि थिई । त्यसकै छेउमा महेश आफ्नो बाइक भित्र राख्न लाग्दैथियो । हँ , महेश ! म तिनछक परेँ । मैले केहुि सोच्नै सकिन । मलाई महेशलाई त्यहि गएर हान्दिऊँ हान्दिऊँ लाग्यो तर रक्सिले राम्रोसगँ अडिएर बस्न पनि सकिरहेको थिईन । इन्दिरा माथि आउँदै गरेको आवाज सुनेँ । म बैठक कोठाको कुर्चिमा गएर बसेँ । ऊ सरासर आएर छोरिको कोठामा पसि । मैले ' ओइ इन्दिरे! ' भनेर बोलाएँ । "ओइ सुनिनस् ? यहाँ आइज भनेको ," मैले फेरि लडबडिएको स्वरमा भनेँ । ऊ मेरो अगाडि नआइकन भान्छामा गएर केहि पकाउन लागेजस्तो गर्न थाली । म भान्छामै गएर उसलाई तथानामका गालीहरु गर्न थालेँ । ऊ सुक्क सुक्क गर्दै रुन थाली तर मलाई उसको आशुँले केहि फरक नै परेन । मैले आफु अगाडिका भाडाँहरु पनि सब लात्तिले हानेर फ्याकिदिएँ । पल्लो कोठामा छोरी उठेर रुन थाली । इन्दिरा त्यतै छोरी भएतिर जान लाग्दै थिई मैले उसको कपालमा समातेर तानेँ ।उसलाई झापड हान्नका लागी हात पनि उचालीसकेको थिएँ , उसले दुबै हात जोडेर ' मलाई माफ गरिदिनु ' भनिरहि । यताको हल्लाले उता छोरी झन् चर्को रोइरहेकि थिई । मैले उसलाई यत्तिकृ छाडिदिएँ र माथि कोठामा गएँ । इन्दिरा त्यो रात छोरीसगैँ सुति ।
अर्कोदिन बिहानै म घरबाट अफिसतिर लागेँ । अफिसकै क्यान्टिनमा बिहानको खाना खाएँ । दिनभरजसो पनि अफिसमा काम गर्ने मुड नै भएन । साझँ पनि बाहिरै खाना खाएर घर फर्किएँ । इन्दिरा टि.भि. हेर्दै थिई , म छोरीको कोठामा पसेँ । ऊ निदाएकी थिई , एकटकसगँ उसको अनुहार हेरिरहेँ । उसका आखाँ र नाक ठ्याक्कै मेरोजस्तै थिए । म त्यहाँबाट उठेर सरासर माथि कोठामा गएर सुतेँ । निकै रातसम्म पनि अहँ निन्द्रै परेन । बिहान उठेर मर्निङ वाकमा गएँ । घरमा फर्किदा छोरी कापी र कलम लिएर होमवर्क नर्न लाउँदैथिई भने इन्दिरा भान्छामा तरकारी काट्दै थिई । म पत्रिका लिएर छोरीको नजिकै गएर बसेँ । " मेरी छोरीले के गर्दैछौ ? " मैले मुस्कुराए झैँ गर्दै सोधेँ । अहँ उसले केहि जवाफ नै दिेइन । " छोरी मसगँ रिसाएकी छौ हो ? " मैले उसलाई काखमा राख्दै सोधेँ । ऊ त केहि नबोली हत्तपत्त मेरो काखबाट झरी र पुन होमवर्क गर्न थाली । उसको यो सब क्रियाकलाप मलाई निकै अनौठो लाग्यो । म नबोलिकन छेउमा पत्रिका पढेर बस्न थालेँ । ऊ सरासर भान्छामा गई र ' ममि मलाई यो आएन ' भन्दै इन्दिराको काखमा बसी । मलाई असह्य पिडा भयो । माथी कोठामा गएर निकैबेर रोईरहेँ । बाथरुम पसेर नुहाएँ र अफिस जाने तरखर गर्न थालेँ । इन्दिराले भान्छामा खाना पकाउदै थिई , छोरी आफ्नो होमवर्क गर्नमै ब्यस्त थिई , म चुपचाप अफिस जानका लागि निस्किएँ । महेश त मेरो अगाडी पर्न छोडिसकेको थियो ।
त्यो रात मलाई घर फर्किन मन नै भएन । राजेशको घरमा गएर बसेँ । फेरी त्यो दिन हामि दुबै जनाले रातभर रक्सि खायौँ र उसले फेरि आफ्नो पारिवारिक कुराहरु सुनायो । म भनेँ त्यो रात एकदम चुपचाप रक्सि खाइरहेँ । अर्को दिन त्यतैबाट अफिस गएँ । साझँ निकै अबेर घर फर्किएँ । गेटको घन्टि बजाएँ तर कोहि पनि गेट खोल्न आएन । छेउमा हेरेको त ताल्चा लगाएकै रहेनछ । भित्र गाडि पार्क गरेपछि थाहा पाएँ त्यहाँ त महेशको बाईक नै थिएन । उसको ढोका पनि बाहिरबाट सामान्य रुपमा मात्रै लगाइएको थियो । गएर ढोका खोली हेरेको त भित्र पुरै खाली थियो । उसले फ्ल्याट छोडिसकेको रहेछ । एकाएक मनमा चिसो पस्यो । दौडिदै माथि उक्लिएँ । माथि त पुरै अध्यारो थियो , पुरै सुनसान थियो ।
त्यहाँ न इन्दिरा थिई , न छोरी स्मृति ।
Post a Comment