सुमन लम्साल |
कक्षा ४ मा पढ्ने बेलाको कुरा हो । मङ्सिर महिनाको दिन थियो । छिटै रात पर्थ्यो । हामि संधै झैँ फूटबल खेलिराखेका थियौं । हार्नेको टिमले भोलिपल्ट जित्ने टिमलाइ एक एक प्लेट चना खुवाउनु पर्ने सर्त थियो । रात पर्न लागि सक्दा पनि कसैको गोल भएको थिएन । बल मैले चलाइरहेको थिएँ । एक्कासी कमल चिच्यायो नङ सुट हान् । मैले खुब जोड सँगले बल उडाएँ । बल त खोलामा पुग्यो । हामि बल लिन खोलामा पुग्ने बेला सम्म त बल बगाइसकेको रहेछ । साथीहरु मसँग खुब रिसाए । सबै भन्दा बढी त बोधु रिसायो । उसले मामा देखि हजुरबा सम्मको मोजा हालेर बल बनाएको रहेछ । उसले भोलि पल्ट आउदा मैले नयाँ बल बनाएर ल्याउनुपर्ने कुरा उठायो । साथीहरु सबैले हो मा हो मिलाए । अब मलाई ठुलो समस्या पर्याे । एक त हाम्रो घरमा जुत्ता लगाउने बुवा मात्र हुनुहुन्थ्यो । अर्काे कुरा बुवाको च्यातिएको चाँहि मोजा अस्तिनै घरमा मह झिक्दा झुम्रो बनाइसकेको थियो । मैले बोधुलाई फकाएर बल बनाइदिय १० रुपियाँ सम्म दिने सर्त राखे । उसले मरिगए मानेन । साथीहरुको अगाडी केहि सिप नलागेपछि लुत्रुक्क पर्दै घर तिर लागेँ ।
त्यो बेलुकी राम्रो संग खान मन पनि लागेन । राति सबैजना सुतिसकेपछि बुवाको जुत्ता राख्ने ठाँउमा पुगेर एकपटक हेरेँ । सेता एक जोर मोजा जुत्ता भित्रै थिए अरु मोजाको टुक्रा सम्म थिएन । मनमा अनेक कुरा खेले । एक मनले सोच्यो ह्या बल सल खेल्न जादिन । के मान्थ्यो र अर्काे मन । अर्काे मनले भन्यो यहि मोजा झिक र भोलि मुसा ले लागेको हुन सक्ने कुरा उठा । त्यहि मनले जित्यो । भोलि पल्ट बिहान सबै जना उठिसक्ने हुनाले मोजा अहिले नै लुकाउनु पर्ने थियो । खुसुक्क मोजा झिकेर झोलामा लगेर राखेँ र सुत्न गएँ । भोलि पल्ट एक्कसी बुवाको स्वर कानमा पर्दा ब्युझियँ । “सुमन ! तैले देखिनस् बाबु मेरो मोजा कहाँ परेछ ? ममीले पनि देखिन भन्छे ।” बुवा ले कोठाको चारै तिर आँखा लगाउदै भन्नु भयो । मैले आँखा मिच्दै निकै जान्ने झैँ गरेर भनेँ “बुवा मुसाले लग्यो होला अस्ति माथि भकारीमा लगेर के के थुपारेको थियो त्यहि पो लग्यो कि ?” बुवाले फकाउने पारामा भानु भयो “जा त बाबु हेरेर आइज ” म जा भन्ने आवाज सुन्न साथ कुदी हालें भकारी तिर, तर भकारी सम्म पुगिन आँटीको लिस्नाबाटै छैन रैछ भन्दै फर्किएँ । अब चप्पल लगाएर जानु पर्याे भन्दै बुवा निस्कनु भयो । मलाइ राहात महसुस भयो ।
त्यो दिन स्कुलमा कमलको र मेरो दिनभरिको काम नै बल बनाउने भयो । सेरोफेरो को कक्षा नै हापियो । उसकोमा गएर कागज र डोरी ल्याइयो अनि मैले लगेको दुइ वटा मोजा हालेर बल बनाइयो । मोजा नयाँ भएकाले बोधुले बनाउने भन्दा धेरै राम्रो पनि भयो । बललाई स्कुल नाकिकै झाडीमा लुकाएर राखियो र हामीहरु घर तिर लागियो । घरमा पुग्दा ममीले माथि भकारी तिर मोजा खोज्दै हुनुन्थ्यो । मैले पनि सम्भावित ठाउँ देखाउदै एकछिन खोजे जस्तो गरें । एकैछिनमा खाजा खाइ वरी केटो हाजिर भयो आफ्नै क्याराभानमा ।
कमल बल लिएर आइसकेको थियो । अरु साथीहरु आउने क्रम थियो । साथीहरुले बलको ठुलो प्रसंसा गरे । कतिले त बोधुको बल खेल्न पनि घिन लाग्थ्यो सुमन को बल त नयाँ जस्तै रैछ सम्म भने । बोधु अलि निन्याउरो भयो । हिजो बल हराएर रोकिएको खेल आज पुन सुरु हुने भयो । बिचमा तिन पटक बल उफारेर खेल सुरु भयो । उफ्रिन त मोजाको बल के उफ्रिन्थ्यो र त्यहि पनि दाइहरुले बाँधेको बिरालो हामीले पनि बाँधियो । खेल हामीले जित्यौं मैले १ गोल हानेँ र कमल ले १ थप्यो । उनीहरुको तिर बाट विनोदले १ गोल हान्यो । जामा जम्मी २–१ को नतिजा निस्कियो । हामि चनाको स्वाद सम्झिएर मुख मिठ्याउदै आफ्नो आफ्नो घर तिर लगेउ ।
घरको आँगनमा टेक्न नपाउदै बुवाले भन्नुभयो “बाबु मोजा त मुसाले नै लागेको रैछ नि मुसो पनि भेटियो मोजा पनि भेटियो ।” म अचम्म परें । नबुझे जस्तो गरेर सोधें, “खोइ त बुवा मुसो ?” बुवाले मेरो कमिजको पछाडी समात्दै भन्नु भयो “यी यै हो मुसो ।” म छाँगाबाट खसेजस्तो भएँ, दिमागले काम गर्न छाड्यो । म तिर ठुलो आँखा ले हेर्दै बुवाले भन्नु भो “अस्ति किनेको नयाँ मोजा चोरेर लगेर बल बनाउने, अझ मुसाले लग्यो होइन ? धन्न कान्छीले देखेकी रैछ र भनि, अझ कक्षा पनि हाप्ने हैन ?” बुवा गालि गर्दै हुनुहुन्थ्यो म नबोली लुसुक्क माथि गएर बसें । खास कुरो के भएछ भने हामी कमलकोमा गएको बेला बैनीले कलम खोज्न मेरो झोला हेरिछ । हामीले ढलनमा गएर बल बनाउदा पनि लुकेर हेरेकी रे अनि घर आएर सब कुरा उसले नै लगाएकी रहिछ ।
त्यस दिन देखि मलाइ बुवाले बल खेल्न जान दिनु भएन । म खेलबाट एक महिनाको लागि निलम्बित भएँ । साथीहरुले किन खेल्न नआएको भन्दा कहिले बिरामी छु भनेर टारें त कैले पढ्नु छ भनेर टारें । १०/१५ दिन पछाडी त गहुँ छर्नको लागि खेतहरु पनि जोतिन थाले । साथीहरु पनि खेल्न जान छाडे । त्यो सिजनको फुटबल मेरो लागि पुरा नखेल्दै टुंगियो ।
यतिबेला मौसम विश्वकप फूटबलको छ । सुर मुनि देखि भुसुना सम्म सबैजना त्यसैको ज्वरोले तातेका छन् । त्यो बेला विश्वकप हेर्न त के भए नभएको पनि पत्तो हुदैन थ्यो । त्यहि धानका ठोसा माथि मोजाको बलले खेल्ने खेल नै हाम्रो लागि विश्वकप हुन्थ्यो । अहिले हेरेर रमाएको भन्दा हजारौ बढी गुणा हामि खेलेर रमाउने गर्थेउ । मलाइ आज पनि ब्राजिलमा भएको विश्वकप भन्दा १० वर्ष अगाडी खेतको गरामा भएको हाम्रो विश्वकप प्रिय लाग्छ । जून विश्वकपमा म बिचमै निकालिएको थिएँ ।
Post a Comment